काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विभिन्न विधेयकमाथि छलफल र तिनलाई समितिमा पठाउने प्रस्ताव समेटिएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकलाई समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची छ ।
त्यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयकमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।









