काठमाडौँ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) का जोखिमलाई ‘होक्स’ अर्थात् कपोलकल्पित कुरा ठहर्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग असहमति जनाएका छन् । एआईको तीव्र विकाससँगै देखिएका सम्भावित जोखिम वास्तविक र गम्भीर भएकाले सुरक्षा उपाय र सरकारी निगरानी आवश्यक रहेको उनको भनाइ छ ।
ट्रम्पले एआई विकासको गति सुस्त पार्ने वा कडा नियमन गर्ने मागले चीनलाई अनुचित फाइदा पुग्न सक्ने बताएका थिए । गेट्सले भने सुरक्षा मापदण्ड लागू गर्दा अमेरिकाको प्रतिस्पर्धी क्षमता कमजोर नहुने र चीनसहित सबै देशले एआईका लागि सुरक्षा व्यवस्था चाहने तर्क गरेका छन् ।
गेट्सले यस विषयमा ट्रम्पसँग प्रत्यक्ष कुरा गर्ने इच्छा पनि व्यक्त गरेका छन् । एआईको क्षमता र जोखिमबारे आफ्नो लामो प्राविधिक अनुभवका आधारमा अमेरिकी नेतृत्वलाई सुरक्षा, निगरानी र नियमनको आवश्यकता बुझाउन सकिने उनको विश्वास छ ।
उनले एआई कम्पनीहरूको स्वनियमन मात्र पर्याप्त नहुने भन्दै कानुन निर्माता र कार्यान्वयन निकायलाई सुरक्षाका मापदण्डबारे छलफलमा सहभागी गराउनुपर्ने बताएका छन् । खराब ढङ्गले व्यवस्थापन गरिए उन्नत एआईले व्यापक मानवीय क्षति निम्त्याउन सक्ने जोखिम रहेको उनको चेतावनी छ ।
एआईमा सुरक्षा व्यवस्था कति कडा बनाउने भन्ने विषयमा प्रविधि क्षेत्रमै मतभेद छ । ओपनएआईका साम अल्टम्यान र एन्थ्रोपिकका डारियो अमोडेईले सुरक्षा जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राख्दै आएका छन् भने केही प्रविधि प्रमुखले कडा नियमनले नवप्रवर्तन र प्रतिस्पर्धामा असर पार्न सक्ने बताउँछन् । गेट्सले भने एआईको विकाससँगै जोखिम नियन्त्रणका नियम र बलियो सुरक्षा ढाँचा पनि आवश्यक रहेकोमा जोड दिएका छन् ।









