काठमाडौँ । दुबईबाट तेल अवीवतर्फ उडेको फ्लाईदुबईको यात्रुवाहक विमानले बुधबार बिहान दुईपटक आपत्कालीन संकेत पठाएपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । तीमध्ये एउटा संकेत विमानमा सम्भावित अपहरण वा गैरकानुनी हस्तक्षेप भएको जनाउने थियो । पछि प्रारम्भिक अनुसन्धानबाट विमानभित्रै दुई पाइलटबीच भएको हिंसात्मक झडपका कारण यस्तो अवस्था सिर्जना भएको खुलेको छ ।
फ्लाईदुबईको एफजेड १०७३ उडानमा करिब १८० यात्रु सवार थिए । तीमध्ये १०० भन्दा बढी यात्रु इस्राइली नागरिक रहेको बताइएको छ । विमान दुबईबाट तेल अवीवका लागि उडेको करिब साढे दुई घण्टापछि पाइलटहरूबीच झडप भएको बताइएको छ । घटनापछि विमानको उचाइ पनि छोटो समयमै तीव्र रूपमा घटेको थियो ।
प्रारम्भिक जानकारी अनुसार उडानकै क्रममा दुई पाइलटबीच हिंसात्मक झडप भएको थियो । एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको आरोप छ । आक्रमणमा परेका पाइलट बेहोस भएको बताइएको छ ।
झडपका कारण विमानको अवस्था असामान्य बनेपछि विमानले सुरुमा ७७०० आपत्कालीन संकेत प्रसारण गरेको थियो । यो सामान्य आपत्कालीन अवस्थाको संकेत हो । त्यसपछि ७५०० संकेत प्रसारण गरिएको थियो, जसले विमानमा गैरकानुनी हस्तक्षेप वा सम्भावित अपहरण भएको जनाउँछ । पछि फेरि ७७०० संकेत प्रसारण गरिएको थियो ।
घटनापछि प्रारम्भिक रूपमा एक पाइलटले विमानलाई आफ्नो नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गराउन खोजेको आशंका गरिएको थियो । तर अहिलेसम्म त्यस्तो उद्देश्य पुष्टि भएको छैन । घटनाको वास्तविक कारण र पाइलटको उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।
पाइलटहरूबीच झडप भएपछि विमान एक मिनेटभन्दा केही बढी समयमै करिब १५ हजार फिट तल झरेको बताइएको छ । विमानको अवस्था असामान्य भएपछि यात्रु र चालक दलमा त्रास फैलिएको थियो ।
विमानलाई निर्धारित गन्तव्य तेल अवीव नपुर्याई साउदी अरबतर्फ मोडिएको थियो । त्यसपछि विमान साउदी अरबको तबूक विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको थियो । विमान अवतरण गरेपछि अपहरणको आशंका खारेज गरिएको थियो ।
विमान सुरक्षित रूपमा अवतरण गरेपछि दुवै पाइलटलाई विमानबाट निकालिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको बताइएको छ ।
इस्राइली सञ्चारमाध्यमका अनुसार विमानमा रहेका अन्य चालक दलका सदस्य तथा केही इस्राइली यात्रुले पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए । केही यात्रु ककपिटसम्म पुगेर अवस्था नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ ।
एक यात्रुले आफूहरूले ककपिटभित्र पाइलटमाथि चक्कु प्रहार भएको देखेको बताएका छन् । अर्को विवरणअनुसार यात्रुहरूलाई समेत पाइलटलाई नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गरिएको थियो ।
विमानभित्र खिचिएको भनिएको भिडियोमा केही यात्रु घाइते पाइलटको नजिक उभिएर उनलाई होसमा राख्ने प्रयास गरिरहेको देखिन्छ । भिडियोमा एक यात्रुले घाइते पाइलटलाई ननिदाउन आग्रह गर्दै विमान बचाउन सफल भएको बताएको सुनिएको उल्लेख छ ।
विमानमा रहेकी मिरियम नामकी एक यात्रुले घटनाका क्रममा यात्रुहरू निकै डराएको बताएकी छन् । सुरुमा घटना कति गम्भीर थियो भन्ने यात्रुहरूले बुझ्न नसकेको उनले बताएकी छन् । उनका अनुसार केही समयसम्म अवस्था यस्तो देखिएको थियो कि विमानभित्रै आतंकवादी हमला भएको हो कि भन्ने डर पैदा भएको थियो । करिब १० देखि १५ मिनेटसम्म आफूहरू विमानबाट जीवितै बाहिर निस्कन सक्नेमा समेत आशंका भएको उनले बताएकी छन् ।
अर्का एक यात्रुले विमान अचानक तल झर्न थालेको, विद्युत् प्रणालीमा समस्या आएको र यात्रुहरूबीच चिच्याहट भएको बताएका छन् । उनका अनुसार ककपिटमा चक्कु प्रहार भएको र त्यसपछि विमानको कम्प्युटर प्रणालीमा समेत क्षति पुगेको थियो ।
घटनाको जानकारी पाएपछि इस्राइली वायुसेनाले सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै लडाकु विमान परिचालन गरेको थियो । इस्राइलले आफ्नो सुरक्षा सतर्कता पनि बढाएको बताइएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा अधिकारीहरूसँग बैठक गरेका थिए । यसैबीच साउदी अरबमा अवतरण गरेको विमानका यात्रुलाई तेल अवीव फर्काउन फ्लाईदुबईले संयुक्त अरब इमिरेट्सबाट अर्को विशेष विमान पठाउने तयारी गरेको बताइएको छ ।
यात्रुहरूलाई फर्काउन इस्राइली सैन्य वा नागरिक विमान प्रयोग गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइएको छ । इस्राइली वायुसेनाका हरक्युलिस विमान पठाउने सम्भावनाबारे समेत विचार गरिएको बताइएको छ ।
प्रारम्भिक जानकारीमा आक्रमणमा संलग्न भनिएका पाइलट ओमानी मूलका रहेको बताइएको छ । तर उनको पहिचान र पृष्ठभूमिको आधिकारिक पुष्टि भइसकेको छैन ।
घटनाको कारण मनोवैज्ञानिक समस्या थियो वा अन्य कुनै उद्देश्य थियो भन्ने पनि अहिलेसम्म स्पष्ट भएको छैन । एक पाइलटमाथि आत्मघाती उद्देश्यले विमान नियन्त्रणमा लिन खोजेको प्रारम्भिक आशंका गरिएको भए पनि त्यसको पुष्टि भएको छैन ।
घटनामा पाइलटहरूबीच वास्तवमै उडानका क्रममा शारीरिक झडप भएको पुष्टि भएमा यो विषय केवल विमानभित्रको आन्तरिक अनुशासनको घटनामा सीमित नहुन सक्छ । यसलाई गम्भीर विमान सुरक्षा घटनाका रूपमा अनुसन्धान गरिने सम्भावना छ र त्यसपछि नियामकीय वा आपराधिक कारबाही हुन सक्ने बताइएको छ ।
अनुसन्धानमा झडपका क्रममा कुनै पाइलटले आफ्नो जिम्मेवारी पूरा गर्न छाडेका थिए कि थिएनन्, विमानको नियन्त्रण कति समय प्रभावित भयो, अन्य चालक दलका सदस्यले ककपिटमा हस्तक्षेप गर्नुपरेको थियो कि थिएन र यात्रु तथा विमानको सुरक्षामा वास्तविक खतरा कति उत्पन्न भएको थियो भन्ने विषय पनि हेरिनेछ ।
यस्तै घटना यसअघि २०२२ मा एयर फ्रान्सको विमानमा पनि भएको थियो। जेनेभाबाट पेरिसतर्फ उडिरहेको विमानका दुई पाइलटबीच ककपिटमै शारीरिक झडप भएको थियो । त्यसबेला चालक दलका सदस्यहरूले दुवै पाइलटलाई छुट्याएका थिए र विमान अवतरण नहुँदासम्म एक पाइलट मात्र ककपिटमै रहेका थिए ।









