काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समुहको वडा अधिवेशन आजदेखि शुरु हुदैछ ।
पूर्व सभापति देउवाले आफुलाई पार्टीको सभापति भन्दै एक पैल जारी गरेर पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् ।
देउवाले झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीका लागि निकै महत्वपूर्ण रहेको बताएका छन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि पार्टीले गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि महाधिवेशन महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले देशभरका ६ हजार ७४३ वडामा आजदेखि एकैसाथ विधि र प्रक्रिया पूरा गरी सुरु हुने वडा अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई हर्षोल्लासका साथ सहभागी भएर सफलतापूर्वक सम्पन्न गर्न आग्रह गरेका छन् ।
देउवाले पार्टीभित्र रहेका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।









