काठमाडौं । मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जनाको शव फेला परेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार खोजी तथा उद्धारका क्रममा अहिलेसम्म आठ जनाको शव फेला परेको हो ।
उद्धार गरिएका शव नेपाली सेनाको हेलिकप्टरबाट आज २ वटा शव चामे र ६ वटा फूगाउँसम्म ल्याईएको नेपाली सेनाले जानकारी दिएको छ ।
एनएनएमजीए खोज तथा उद्धार टोलीले हिमालयन होलिडेज, सेभेन समिट ट्रेक्स र स्थानीय पथप्रदर्शकहरूसँगको समन्वयमा अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।
आधार शिविर क्षेत्रमा करिब १४ फिटसम्म हिउँ जमेकाले हरेक स्थान हातैले खोतलेर खोजी गर्न कठिन र जोखिमपूर्ण भएको एसोसिएसनले जनाएको छ । अत्यधिक चिसो र अस्थिर हिउँका कारण उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनेको बताइएको छ ।
हालको अवस्था सुरक्षित नभएकाले खोजी तथा उद्धार अभियान जारी रहेको एसोसिएसनले जनाएको छ । हिउँ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित रहेर बेपत्ताको खोजी तथा शव निकाल्ने प्रयास गरिने जनाइएको छ ।
मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।









