• २०८३ असोज १७ शनिबार

कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि

कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आजदेखि शुरु हुदैछ 

महाधिवेशनको उद्घाटन आज आपरहन्न काठमाडौँको खुलामञ्चमा हुनेछ । असोज १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । निर्वाचन राष्ट्रिय सभागृह र प्रज्ञा भवनमा हुने जानकारी दिइएको छ ।

काँग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुदैछन् । 

महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुले शनिबारदेखि नै पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशनको दर्ता प्रक्रिया शुरू गरेका छन् । दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५ औँ महाधिवेशनको झोला पाउने छन् ।  झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ । 

यी दलका नेताहरु सहभागी हुदै: 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा सहभागी हुन विदेशबाट पनि जनसंगठनका प्रतिनिधिहरू काठमाडौं आएका छन् । पूर्वसभापति शेरबहादुर देउवालाई १५औँ महाधिवेशन उद्घाटनका लागि बोलाइएको उनले जानकारी दिएका छन् । देउवा भने आफ्नो समुहको अलग्गै महाधिवेशनको प्रक्रियामा अगाडी बढेका छन ।

त्यस्तै महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका नेताहरू पनि सहभागी हुदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, श्रम संस्कृत पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम पौडेल उद्घाटन कार्यक्रममा आउने तय भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

त्यस्तै विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेकी छन् ।

बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने:

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई बासको व्यवस्था नगर्ने भएको छ । पार्टीले खाजा र खानाको व्यवस्था गर्ने तर बासको व्यवस्था भने प्रतिनिधि आफैंले गर्नुपर्ने भएको हो । महाधिवेशन प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा गरिने भएको छ । बिहान खाजा, दिउँसो खाना र बेलुकाको खाजा भृकुटीमण्डपमा हुने गरी तयारी गरिएको छ ।  प्रतिनिधिका लागि सुन्धारा, ठमेल, नयाँ बसपार्क, कलंकी, एयरपोर्टलगायत क्षेत्रका होटलहरूसँग पार्टीले समन्वय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक रमेश धमलाले जानकारी दिएका छन् । 

भड्किलो प्रचारमा पूर्ण रोक

कांग्रेसले महाधिवेशनमा उम्मेदवारहरूले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न रोक लगाएको छ । केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना र वातावरणीय पक्षलाई ध्यान दिँदै निर्वाचन आचारसंहितामा थप कडा व्यवस्था लागू गरेको बताएको छ । समितिले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अब उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ । केन्द्रीय निर्वाचन समितिले हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।

समितिले आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमअनुसार कारबाही गरिने समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमिति ठुलो बनाइदै:

हाल १६४ सदस्यीय रहेको केन्द्रीय कार्यसमिति १५औँ महाधिवेशनपछि २३८ सदस्यीय बनाउने तयारी गरिएको छ । पदाधिकारीको संख्या १४ बाट बढाएर १७ पुर्‍याइएको छ । सभापतिसहित १३ पदाधिकारी र १५६ सदस्य महाधिवेशनबाट निर्वाचित भएर आउनेछन् । नयाँ व्यवस्थाअनुसार सभापतिले महाधिवेशनपछि तीन सहमहामन्त्रीसहित ६१ जना मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि पदाधिकारीमा कोषाध्यक्ष मात्रै मनोनयन गर्ने व्यवस्था थियो । मनोनीत हुने तीन सहमहामन्त्रीमध्ये एक महिला अनिवार्य गरिएको छ । आठ समूहबाट एक–एक सहमहामन्त्री निर्वाचित हुने पुरानो व्यवस्था भने कायम राखिएको छ । यससँगै कम्तीमा एक निर्वाचित र एक मनोनीत गरी दुई महिला पदाधिकारी सुनिश्चित गरिएको छ ।

सभापतिले मनोनयन गर्न पाउने केन्द्रीय सदस्यको संख्या पनि ४१ बाट बढाएर ६१ पुर्‍याइएको छ । त्यस्तै ३५ बर्ष मुनिका २१ जना युवालाई आरक्षण दिएर केन्द्रीय समितिमा लगिदै छ, जसमा हरेक प्रदेशबाट कम्तिमा एक महिलासहित १४ जना र ७ जना खुलाबाट निर्वाचित गर्ने तयारी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै