• २०८३ असोज १९ सोमबार

उच्च शिक्षा सुधारबारे मधेशमा उच्चस्तरीय संवाद सुरु

उच्च शिक्षा सुधारबारे मधेशमा उच्चस्तरीय संवाद सुरु

सिमरा । उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारुपबारे मधेश प्रदेशमा उच्चस्तरीय संवाद कार्यक्रम बाराको सिमरामा सुरु भएको छ ।

युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको दुईदिने कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, नीति निर्माता र विज्ञहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा मधेश प्रदेशको उच्च शिक्षाको अवस्था, सम्भावना र विद्यमान समस्याबारे कार्यपत्र प्रस्तुत गरी समूहगत छलफल गरिनेछ। विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको अवस्थाबारे प्रस्तुति दिएका छन् ।

संवादमा मधेश प्रदेशको उच्च शिक्षाको भविष्य, जिल्लागत सम्भाव्यता, सुधारका उपाय तथा विश्वविद्यालयको भूमिकाबारे छलफल हुनेछ । विभिन्न विश्वविद्यालयका पदाधिकारीले उच्च शिक्षाको वर्तमान अवस्था र सुधारका विषयमा प्रस्तुति दिने कार्यक्रम छ ।

शिक्षा मन्त्रालयका अनुसार राष्ट्रिय योग्यता प्रारुपअन्तर्गत औपचारिक, अनौपचारिक तथा सीप शिक्षाबाट प्राप्त ज्ञान र सीपलाई एकीकृत तथा प्रमाणीकरण गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइनेछ। शिक्षाबीच रूपान्तरण, शिक्षामा गतिशीलता तथा श्रेय सञ्चय र स्थानान्तरण प्रणाली विकास गर्ने विषयमा पनि छलफल हुनेछ ।

मन्त्रालयका सहसचिव जयराम अधिकारीले आधारभूत शिक्षा नपाएका, वैकल्पिक माध्यमबाट शिक्षा हासिल गरेका तथा परम्परागत रूपमा सीप प्राप्त गरेका व्यक्तिलाई समेत राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने उद्देश्य रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै