रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ का ३४ वर्षीय सोमबहादुर महत रहेका छन् । उनी असोज १९ गते दिउँसो करिब १२ बजे कमेरो माटो लिन भन्दै घरबाट निस्किएका थिए । दिउँसो ३ बजेसम्म घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो ।
खोजीका क्रममा असोज २० गते दिउँसो करिब १२: ३० बजे घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको कमेरो माटो निकाल्ने स्थानमा ढिस्को पन्छाउँदा महतको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









