• २०८३ असोज २२ बिहीबार

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ ।

बाढीबाट विद्युतगृहमा डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो ।  आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट -२० मेगावाट  बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युतगृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो ।

विद्युतगृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । ‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत उत्पादन सुरु गरेका छौं, अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ’, प्रबन्ध–सञ्चालक केसीले भने ।

राहुघाट जलविद्युत आयोजनामा २० ÷२० मेगावाट क्षमताका दुईवटा युनिट रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै