काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आज हुने भएको छ ।
यसअघि विहिबार हुने भनिएको मतदान केन्द्रीय निर्वाचन समितिले प्राविधिक तयारी पुरा हुन नसकेपछि आजको लागि सारेको थियो । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले तयारी पुरा भएको र आज बिहान बिहान ७ देखि दिउसो ३ बजेसम्म मतदान हुने बताएका छन् ।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
काँग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८०० भन्दा बढी उमेदवार चुनावी मैदानमा रहेका छन् । काँग्रेसको यस निर्वाचनमा महाधिवेशनका ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्दैछन् ।









