तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले निर्माणस्थलमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार र प्रतिकार्य क्षमता अभिवृद्धि गर्न मुख्य बाँध निर्माणस्थलमा नमुना अभ्यास गरेको छ ।
आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत गरिएको अभ्यासमा मुख्य बाँध, सुरुङ, विद्युत्गृहलगायत संरचनामा कार्यरत जनशक्तिलाई लक्षित गरिएको थियो । अभ्यासमा विपद्का बेला अपनाउनुपर्ने सुरक्षा सावधानी, तत्काल उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सम्बन्धित निकायबीच समन्वय गर्ने तरिकाबारे व्यावहारिक अभ्यास गरिएको थियो ।
कार्यक्रममा तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक छविलाल गैह्रेले विपद् व्यवस्थापनमा पूर्वतयारी, समयमै सूचना प्रवाह र प्रभावकारी उद्धार प्रणाली महत्त्वपूर्ण हुने बताएका थिए । उनले निर्माणस्थलमा कार्यरत जनशक्ति तथा बाँधको तल्लो तटीय क्षेत्रका बासिन्दाको सुरक्षा आयोजनाको प्राथमिकतामा रहेको बताए ।
आयोजनाले सम्भावित बाढीको जोखिमबारे समयमै सूचना दिन बाँधस्थलदेखि सेती र त्रिशूली नदीको दोभानसम्म १७ वटा साइरन जडान गरेको छ । साथै, सुरक्षित स्थानमा जाने र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन १० स्थानमा सूचनामूलक बोर्ड राखिएको जनाएको छ ।
आयोजनाले नियमित नमुना अभ्यास, पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायमा जनचेतना अभिवृद्धिमार्फत विपद्बाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।









