• २०८३ असोज २९ बिहीबार

हुथीविरुद्धको युद्धमा सहभागी हुने इजरायलको प्रस्ताव, साउदीद्वारा अस्वीकार

हुथीविरुद्धको युद्धमा सहभागी हुने इजरायलको प्रस्ताव, साउदीद्वारा अस्वीकार

काठमाडौँ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यमनका हुथी विद्रोहीविरुद्ध जारी सैन्य अभियानमा इजरायललाई सहभागी गराउने प्रस्ताव अस्वीकार गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी मध्यस्थतामार्फत साउदी अरबसँग यस्तो प्रस्ताव राखेको कूटनीतिक स्रोतलाई उद्धृत गर्दै इजरायली सञ्चारमाध्यम हारेत्जले जनाएको छ ।

हारेत्जका अनुसार साउदी युवराजले इजरायली सेनालाई यमनको अभियानमा सहभागी गराउँदा साउदी जनतामाझ विरोध बढ्न सक्ने आशङ्काले प्रस्ताव अस्वीकार गरेका हुन् । इजरायलले भने साउदी अरबसँग सैन्य सहकार्य विस्तार गरेर क्षेत्रीय सम्बन्ध बलियो बनाउने र भविष्यमा दुई देशबीच कूटनीतिक सम्बन्ध सामान्यीकरण गर्ने सम्झौताको बाटो खोल्ने अपेक्षा गरेको जनाएको छ ।

साउदी अरब र इजरायलबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अब्राहम सम्झौतामा सहभागी हुन आग्रह गर्दै आए पनि रियादले प्यालेस्टाइन समस्या समाधान र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनालाई सम्बन्ध सामान्यीकरणको सर्त बनाउँदै आएको छ ।

नेतन्याहुले भने प्यालेस्टिनी राज्य स्थापनाको विरोध गर्दै आएका छन् । यस्तो अवस्थामा साउदी अरब र इजरायलबीच सम्बन्ध सामान्यीकरणको सम्भावना थप जटिल बनेको छ ।

यमनका हुथी विद्रोहीले साउदी अरबमा आक्रमण जारी राखेका बेला इजरायलको प्रस्ताव अस्वीकार गरिएको खबर आएको हो । हुथी आक्रमणका कारण साउदी अरबको हवाई सेवासमेत प्रभावित भएको र रियादको अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने अवधि बढाइएको समाचारमा उल्लेख छ ।

साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीसमेत रहेकाले उनको स्वीकृतिबिना इजरायललाई सैन्य अभियानमा सहभागी गराउन कठिन हुने विश्लेषण गरिएको छ ।

हारेत्जका अनुसार सन् २०२३ को अन्त्यतिर साउदी अरब र इजरायल सम्बन्ध सामान्यीकरणसम्बन्धी सम्झौताको नजिक पुगेका थिए । तर त्यसै वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि क्षेत्रीय परिस्थिति बदलिएको थियो ।

यसैबीच, वासिङ्टन पोस्ट को एक रिपोर्टले हमासको सम्भावित योजनाबारे साउदी युवराजले नै नेतन्याहुलाई पहिले चेतावनी दिएको दाबी गरेको छ । तर नेतन्याहुले त्यसलाई बेवास्ता गरेको रिपोर्टमा उल्लेख छ ।  साउदी अधिकारीहरूले इजरायलको प्रस्ताव अस्वीकार गरिएको खबरबारे औपचारिक प्रतिक्रिया भने अहिलेसम्म दिएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै