• २०८३ कार्तिक २ आइतबार

हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान

हनी सिंहसँग साइबर सेलको दुई घण्टा बयान

काठमाडौँ । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंह महाराष्ट्र साइबर सेलमा उपस्थित भएर आपत्तिजनक टिप्पणीसम्बन्धी आरोपमा बयान दिएका छन् ।

शुक्रबार, साइबर सेलको कार्यालय पुगेका उनीसँग करिब दुई घण्टा सोधपुछ गरिएको थियो ।

कार्यक्रममा कथित अश्लील तथा महिलालाई अपमान गर्ने टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । यसअघि उनी तीनपटक सोधपुछका लागि उपस्थित नभएको र विदेशमा रहेको जानकारी गराएको साइबर सेलले जनाएको छ । अक्टोबर ५ मा उपस्थित हुन नसकेपछि उनले थप समय मागेका थिए । अक्टोबर २२ मा उपस्थित हुन दिएको उनको निवेदनसमेत अस्वीकार गरिएको थियो ।

निर्धारित समयमा उपस्थित नभए उनीविरुद्ध देश छाड्न रोक लगाउने सूचना जारी गर्ने प्रक्रिया अघि बढाउन सकिने अधिकारीहरूले चेतावनी दिएका थिए । तर हनी सिंह अक्टोबर १६ मै उपस्थित भएपछि उनीसँग बयान लिइएको हो ।

यो विवाद सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित सांगीतिक कार्यक्रमसँग सम्बन्धित छ । कार्यक्रममा उनले गरेको भनिएको टिप्पणीलाई लिएर उजुरी परेको थियो । अप्रिल २ मा भएको सुनुवाइका क्रममा अदालतले विवादित गीतलाई महिलाप्रति अत्यन्त अश्लील, आपत्तिजनक र अपमानजनक भएको टिप्पणी गरेको थियो । अधिवक्ता रुपाली पनवारले उक्त गीत युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध रहेकाले बालबालिकामा समेत नकारात्मक असर पर्न सक्ने भन्दै तत्काल हटाउन माग गरेकी थिइन् ।

विवाद बढेपछि हनी सिंहले भिडियो सन्देश जारी गर्दै माफी मागेका थिए । उनले सार्वजनिक भएको भिडियोको अंशलाई प्रस्तुत गरिएको तरिकाले मानिसहरूलाई चोट पुगेको बताएका थिए । आफूले कसैलाई अपमान गर्ने वा दुःखी बनाउने उद्देश्य नराखेको उनको भनाइ थियो ।

उनले युवा दर्शकलाई सन्देश दिने प्रयास गरेको भए पनि त्यसलाई व्यक्त गर्ने आफ्नो शैली धेरैलाई अनुचित लागेको स्वीकार गरेका थिए । हनी सिंह यसअघि आफ्नो पुरानो गीत ‘भोल्युम १’ का कारण पनि विवादमा परेका थिए । हिन्दू शक्ति दल नामक संस्थाले सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले गीतका केही पङ्क्ति गाएको भन्दै आपत्ति जनाएको थियो ।

यस विषयमा दिल्ली उच्च अदालतले सन् २०२६ अप्रिलमा उक्त गीतसँग सम्बन्धित सामग्रीका लिङ्क सामाजिक सञ्जाल तथा फाइल आदानप्रदान गर्ने माध्यमबाट हटाउन निर्देशन दिएको थियो । त्यसपछि मे महिनामा अदालतले हनी सिंहलाई यस विषयमा शपथपत्र पेस गर्नसमेत भनेको थियो ।

यस घटनामा महाराष्ट्र साइबर सेलको अनुसन्धान जारी रहेको छ । अनुसन्धानका थप विवरण सार्वजनिक गरिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै