काठमाडौँ । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले ‘पीएचपीटुसोल’ नाम दिइएको सुरक्षा कमजोरीबारे सतर्क रहन वेबसाइट सञ्चालक तथा सर्भर व्यवस्थापन गर्ने संस्थालाई चेतावनी दिएको छ ।
यस कमजोरीको फाइदा उठाएर साइबर आक्रमणकारीले प्रयोगकर्ता नाम र गोप्य सङ्केतबिना नै प्रभावित सर्भरमा नियन्त्रण कायम गर्न सक्ने जोखिम रहेको जनाइएको छ ।
पीएचपी प्रविधिमा देखिएको यो कमजोरीबाट आक्रमणकारीले सर्भरमा रहेका गोप्य विवरण चोरी गर्ने, वेबसाइट तथा अनलाइन सेवा अवरुद्ध पार्ने र संस्थाको सञ्जालका अन्य प्रणालीमा प्रवेश गर्ने प्रयास गर्न सक्छन् । यसको असर वेबसाइट सञ्चालकमा मात्र सीमित नभई त्यस्ता सर्भरमा निर्भर डिजिटल सेवा प्रयोग गर्ने व्यक्ति तथा संस्थासम्म पुग्न सक्ने जोखिम रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा निकायका अनुसार यो कमजोरी पीएचपी सफ्टवेयरसँग प्रत्यक्ष सम्बन्धित छ । त्यसैले प्रभावित संस्करण प्रयोग गरिरहेका सर्भर र सेवाको पहिचान गरी तत्काल सुरक्षा अद्यावधिक लागू गर्न आवश्यक छ । पीएचपीले यस समस्यालाई सम्बोधन गर्न सुरक्षा सुधार जारी गरिसकेको छ भने अन्य सफ्टवेयर उत्पादकले पनि आफ्ना उत्पादनका लागि छुट्टाछुट्टै अद्यावधिक उपलब्ध गराउन सक्नेछन् ।
साइबर सुरक्षासम्बन्धी जोखिम घटाउन संस्थाहरूले इन्टरनेटसँग प्रत्यक्ष जोडिएका सर्भर, उपकरण र पीएचपीमा निर्भर सेवाको सूची तयार गर्नुपर्ने सुझाव दिइएको छ । सुरक्षा सुधार उपलब्ध भएसँगै लागू गर्ने, सर्भरमा हुने गतिविधिको निगरानी बढाउने र शङ्कास्पद गतिविधि पहिचान गर्न अभिलेख राख्ने व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
सुरक्षा अद्यावधिक गर्न नसकिने पुराना प्रणालीलाई प्रतिस्थापन गर्नुपर्ने र तत्काल सुरक्षित बनाउन सम्भव नभए आवश्यक सुरक्षा उपाय पूरा नहुँदासम्म इन्टरनेटबाट अलग राख्नुपर्ने सुझाव दिइएको छ । अमेरिकी सरकारी निकायलाई प्रभावित प्रणालीमा तत्काल सुरक्षा सुधार लागू गर्न निर्देशन दिइएको छ ।
वेबसाइट तथा सर्भर सञ्चालकलाई पीएचपीको आधिकारिक सुरक्षा सूचनासँगै सम्बन्धित सफ्टवेयर उत्पादकले जारी गर्ने अद्यावधिक नियमित रूपमा जाँच्न आग्रह गरिएको छ । सबै प्रभावित प्रणालीमा सुरक्षा सुधार लागू भएको सुनिश्चित गर्नु र त्यसपछि पनि निगरानी जारी राख्नु सम्भावित साइबर आक्रमणबाट जोगिने महत्त्वपूर्ण उपाय मानिएको छ ।
पीएचपी वेबसाइट तथा अनलाइन सेवा निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो । यसमार्फत वेबसाइटका सामग्री व्यवस्थापन, प्रयोगकर्ताका विवरण प्रशोधन र सर्भरमा विभिन्न कार्य सञ्चालन गरिन्छ । पीएचपीमा देखिने सुरक्षा कमजोरीले वेबसाइटको तथ्याङ्क चोरी, सर्भरमा अनधिकृत पहुँच र अनलाइन सेवा अवरुद्ध हुने जोखिम निम्त्याउन सक्छ । त्यसैले वेबसाइट सञ्चालक तथा सर्भर व्यवस्थापकले प्रयोग भइरहेको पीएचपी संस्करण पहिचान गरी सुरक्षा अद्यावधिक लागू गर्न र पुराना, असमर्थित संस्करणलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न आवश्यक हुन्छ ।
पीएचपी सुरक्षा जोखिम 'पिएचपीटूशेल'हो । यो पीएचपी भाषाको मूल प्रणालीमा भेटिएका दुई गम्भीर कमजोरीसँग सम्बन्धित छ । पीएचपी विकास टोलीले २१ अक्टोबरमा सुरक्षा सुधारसहितका संस्करण सार्वजनिक गरेको छ ।
अनुसन्धानकर्ताहरूले पहिचान गरेका यी कमजोरीले प्रभावित सर्भरमा प्रयोगकर्ताले लगइन नगरी पनि टाढैबाट हानिकारक आदेश चलाउन सक्ने जोखिम सिर्जना गर्छन् । सफल आक्रमणबाट सर्भरको नियन्त्रण लिन, संवेदनशील विवरण चोर्न वा वेबसाइटको सेवा अवरुद्ध गर्न सकिने सम्भावना हुन्छ । अनुसन्धानकर्ताहरूले वर्डप्रेस, ड्रुपल जस्ता पीएचपीमा आधारित प्रणालीमा समेत यसको प्रभावमा पर्न सक्ने चेतावनी दिएका छन् ।









