काठमाडौं । बढ्दो महँगी, ऊर्जा सङ्कटलगायतका विषयलाई लिएर शनिबार इटलीमा देशव्यापी प्रदर्शन हुने भएपछि सरकारले प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसा र झडप नियन्त्रण गर्न हजारौँ प्रहरी तथा सैनिक परिचालन गरिएका छन् भने निगरानीका लागि मानवरहित विमानसमेत प्रयोग गरिने भएको छ ।
युरोन्युजका अनुसार इटलीका रोम, मिलान, बोलोन्या, जेनोआ, टुरिन र फ्लोरेन्सलगायत सहरमा प्रदर्शनको तयारी गरिएको छ । देशभर जुलुस, धर्ना, सभा र हडतालसहित ३० भन्दा बढी कार्यक्रम तय भएका छन्। रोममा करिब १ हजार ५०० र मिलानमा करिब १ हजार ८०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।
गत अक्टोबर १७ र १८ मा भएका प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । रोममा सार्वजनिक चोक, रेल्वे स्टेसनलगायतका स्थानमा सुरक्षा जाँच गरिनेछ। प्रहरीले सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि पनि निगरानी राखिरहेको छ ।
इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्ला प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै सुरक्षाकर्मीप्रति समर्थन जनाएकी छन् । उनले प्रदर्शन गर्नु नागरिकको अधिकार भए पनि सहरमा आगजनी र तोडफोड गर्नु स्वीकार्य नहुने बताएकी छन् ।
मेलोनीले विपक्षी दलहरूलाई पनि हिंसात्मक घटनाको स्पष्ट रूपमा विरोध गर्न र शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गर्न आग्रह गरेकी छन् । सरकारले प्रदर्शनका क्रममा पुनः हिंसा भड्किन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ ।









