काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले भोलि नै आक्रमण गर्न सक्ने संकेत दिएका छन् । तर उनले दुवै देशबीच राम्रो सम्झौता हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।
फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौता गर्न चाहेको बताए । तर इरानले सम्झौताका सर्त पालना गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न रहेको उनको भनाइ थियो । उनले इरानका सबै लडाकु विमान नष्ट गरिएको र २५९ वटा जहाज डुबाइएको दाबीसमेत गरे । यी दाबी ट्रम्पकै भनाइमा आधारित छन् ।
यसैबीच, इरानले पाकिस्तानी मध्यस्थमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव राखेको भन्ने खबर अस्वीकार गरेको छ । अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने बदलामा होर्मुज जलडमरूमध्य खोल्ने प्रस्तावसम्बन्धी समाचारलाई पनि इरानी पक्षले झुटो र मनगढन्ते भनेको छ ।
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य हुने आशा व्यक्त गर्दै युद्धपछि अमेरिकाले दुवै देशसँग व्यापार गर्ने बताएका छन् ।









