काठमाडौँ । बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा नयाँ खुलासा भएको छ ।
भारतीय मिडिया द इन्डियन एक्सप्रेसका अनुसार, आक्रमणकारीको वास्तविक निशाना अभिनेता आमिर खान रहेको थिए । तर, आमिरसम्म पुग्न कठिन भएपछि उनीहरूले टाइगरलाई निशाना बनाएको बताइएको छ ।
गत सेप्टेम्बर २० मा मुम्बई आएका आक्रमणकारीले आमिर खानको बान्द्रास्थित घरको तीन पटक निगरानी गरेका थिए । आमिर चलचित्रको छायाङ्कनमा व्यस्त रहने र सुरक्षाका कारण उनीसम्म पुग्न कठिन भएपछि आक्रमणकारीले आफ्नो योजना परिवर्तन गरेको बताइएको छ । लरेन्स गिरोहले जुलाईमा सामाजिक सञ्जालको सन्देश र श्रव्य सामग्रीमार्फत आमिरलाई धम्की दिएको पनि समाचारमा उल्लेख छ ।
आमिरलाई निशाना बनाउन सम्भव नभएपछि आक्रमणकारीले अक्टोबरको पहिलो सातादेखि टाइगर श्रफको गतिविधिमाथि निगरानी गर्न थालेका थिए । उनीहरूले तीन हजार भारतीय रुपैयाँमा ट्याक्सी भाडामा लिएर बान्द्रा र अन्धेरी क्षेत्रमा विभिन्न कलाकारका घरको रेकी गरेको अनुसन्धानमा खुलेको जनाइएको छ । अक्टोबर १४ देखि १८ सम्म उनीहरू अन्धेरीस्थित आरआर रेजिडेन्सी होटलमा बसेका थिए ।
अक्टोबर १८ मा जुहूस्थित पुष्पा नरसी पार्कमा फुटबल खेलेर फर्किने क्रममा टाइगरको कारमा आक्रमण भएको थियो । आक्रमणकारीले कारमाथि पाँचदेखि सात राउन्ड गोली चलाएको बताइएको छ । घटनामा टाइगरका चालक घाइते भएका थिए । चालक घाइते भएपछि टाइगर आफैँले गाडी चलाएर अस्पताल पुर्याएको समाचारमा उल्लेख छ ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा राजस्थान, उत्तर प्रदेश र हरियाणाबाट हालसम्म १० जना संदिग्धलाई पक्राउ गरेको जनाइएको छ । उनीहरूसँग सोधपुछ गरी घटनामा संलग्न अन्य व्यक्ति तथा आक्रमणको योजनाबारे अनुसन्धान भइरहेको छ । आमिरलाई धम्की दिने र टाइगरमाथि आक्रमण गर्ने घटनाबीचको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।









