काठमाडौँ । भारतीय अभिनेता इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिसमा बम्बई उच्च अदालतले नोभेम्बर २ सम्म रोक लगाएको छ। अदालतले उक्त मितिमै मुद्दाको अर्को सुनुवाइ गर्ने जनाएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि इमरानलाई प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि उनलाई अक्टोबर २८ सम्म भारत छाड्न निर्देशन दिँदै नोटिस जारी गरिएको थियो ।
अमेरिकी नागरिकता भएका इमरानले उक्त नोटिसविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उनले नोटिसलाई गैरकानुनी भन्दै खारेज गर्न र सुनुवाइ पूरा नहुँदासम्म कार्यान्वयन रोक्न माग गरेका थिए ।
उनको निवेदनमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै आधारमा विदेशी नागरिकता भएका भारतीय मूलका नागरिकको ओसीआई हैसियत रद्द गर्ने प्रक्रिया अघि बढाउनु अनुचित भएको जिकिर गरिएको छ । इमरानका वकिलका अनुसार, उनलाई ओसीआई हैसियत किन रद्द नगर्ने भन्दै कारण देखाऊ नोटिससमेत जारी गरिएको थियो ।









