काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली लेखकहरूले आफ्ना देशका विद्वानहरूलाई नचिन्ने टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्नने वा विद्वान नठान्ने प्रवृत्ति रहेको टिप्पणी गरेका हुन् ।
उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उद्धरण दिने परिपाटी बढी रहेको बताएका हुन् ।
उनले भने- 'हामी आफैले दक्षिण तिरका जोगीहरु आए भने खुट्टा छोएरै ढोग्ने चलन छ । आफ्ना कहाँका विद्वान त्यति चिन्दैनौं । सम्भवत तपाइहरुले आफ्ना ग्रन्थहरुमा पनि विदेशीकै उद्धरण गर्नुभएको होला, किनभने नेपालीले लेखेकोलाई त्यत्ति विद्वान ठान्दैनौं, जति सुकै तर्कपूर्ण किन नहोस् ।'
ओलीले आफुले विभिन्न विद्वानहरुसँग विषयगत रुपमा छलफल गर्ने मन रहेको बताउदै यसले आफ्ना विचारलाई थप उपयोगी बनाउन सक्ने बताए ।









