काठमाडौँ । इजरायलमा सन् १९७७ यताकै उच्च मतदान भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा भइरहेका बेला यो निर्वाचनलाई इजरायलको राजनीतिक भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ ।
शुरुको पाँच घण्टाको मतदानमा ३१ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेको रिपोर्टमा उल्लेख छ ।
मतदानसम्बन्धी सर्वेक्षणले नेतान्याहु र आइजेनकोट नेतृत्वका राजनीतिक समूहबीच कडा प्रतिस्पर्धा देखाएका छन् । तर कुनै पनि समूहले सरकार गठनका लागि आवश्यक ६१ सिट प्राप्त गर्ने स्पष्ट संकेत नदेखिएकाले निर्वाचनपछि सरकार गठनमा लामो राजनीतिक वार्ता हुन सक्ने अनुमान गरिएको छ ।
निर्वाचनमा सुरक्षा, लोकतन्त्र र नेतान्याहुको शासन प्रमुख मुद्दा बनेका छन् । विपक्षीहरूले हमासको नेतृत्वमा भएको सन् २०२३ अक्टोबर ७ को आक्रमण रोक्न नसकेको भन्दै नेतान्याहुको आलोचना गरेका छन् । नेतान्याहुले भने मध्यपूर्वका द्वन्द्वमा हासिल गरेको उपलब्धि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई आफ्नो पक्षमा प्रस्तुत गरेका छन् ।
यसैबीच, मतदान केन्द्रमा अनियमितता भएको भन्दै केही दलले प्रश्न उठाएका छन् । तर इजरायलको केन्द्रीय निर्वाचन समितिले मतपत्रमा व्यवस्थित रूपमा हेरफेर भएको प्रमाण नरहेको जनाएको छ ।
इजरायलको समानुपातिक निर्वाचन प्रणालीका कारण सरकार गठन गर्न विभिन्न दलबीच गठबन्धन आवश्यक हुन्छ । कुनै पनि समूहले बहुमत जुटाउन नसकेमा सरकार गठनमा गतिरोध उत्पन्न हुन सक्ने र नयाँ निर्वाचनसमेत गर्नुपर्ने अवस्था आउन सक्छ ।









