• २०८३ कार्तिक १० मंगलबार

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुने भएका छन् ।

काठमाडौँको मौलिकता, संस्कृति, परम्परा तथा मूर्त र अमूर्त सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा पुराना नेपाली चलचित्रको प्रदर्शन, अन्तरसंवाद, चलचित्रसम्बन्धी विशेष कक्षा, रेड कार्पेट र अवार्ड समारोह सञ्चालन हुनेछन्। महोत्सवमार्फत काठमाडौँका ओझेलमा परेका कथालाई उजागर गर्नुका साथै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने महानगरपालिकाको लक्ष्य छ ।

महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष रूपमा प्रदर्शन गरिनेछ। अन्तर्राष्ट्रिय पानोरमा खण्डमा चीन, भारत, अस्ट्रेलिया, मंगोलिया, अमेरिका, फ्रान्स, कोरिया र जर्मनीलगायत देशका चलचित्र देखाइनेछन्। जापानको यामागाता सहरबाट आएको लघु चलचित्र पनि प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ ।

नेपाल पानोरामा सर्ट्सका लागि प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएका छन् । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकको युवा लक्षित छोटो भिडियो प्रतियोगितामा प्राप्त ३५ मध्ये ११ वटा भिडियो प्रदर्शनका लागि छानिएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महोत्सवका कार्यक्रम वसन्तपुर, राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डलगायत स्थानमा सञ्चालन हुनेछन् । चलचित्र प्रदर्शन निःशुल्क भए पनि सिट सुरक्षित गर्न टिकट लिनुपर्नेछ। महानगरपालिकाले महोत्सवलाई स्थानीय रचनात्मक उद्योगको विकास, नेपाली चलचित्रकर्मीको क्षमता अभिवृद्धि, सांस्कृतिक सम्पदाको प्रवर्धन र पर्यटन विकासको माध्यमका रूपमा अघि बढाउन लागेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै