काठमाडौँ । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिकूल मौसमका कारण पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुन सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेरेर मात्र यात्रा योजना बनाउन आग्रह गरिएको छ ।
यसैबीच, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन पर्यटन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ। प्रतिकूल मौसममा यात्रुको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनसमेत विभागले आग्रह गरेको छ ।









