काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ ।
कात्तिक १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धिका विषयमा छलफल हुनेछ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन् । दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी छन् ।
बैठकमा मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियारको ओसारपसार नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार र सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल हुनेछ । त्यस्तै, खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधबारे सूचना आदानप्रदान, आधुनिक प्रविधिको प्रयोग तथा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संयुक्त सहकार्य बढाउने विषय पनि बैठकको कार्यसूचीमा छन् ।
सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने, यात्रु सहायता कक्ष थप गर्ने तथा दुवै सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ ।
बैठकले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।









