• २०८३ कार्तिक १३ शुक्रबार

रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अल नासरले साउदी प्रो लिगमा अल खोलुदलाई ५–३ गोलले पराजित गरेको छ ।

गएराति भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा लगातार तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यस ह्याट्रिकसँगै उनको व्यावसायिक फुटबल करियरमा गोल संख्या ९८५ पुगेको छ ।

खेलको सुरुवात भने अल नासरका लागि सहज रहेन । अल खोलुदका जुलियन डोमिन्गेजले १६औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर अल नासरका एन्जेलो गाब्रिएलले २४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि साडियो मानेले ३८औँ मिनेटमा गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन एसोम्बाले गोल गरेपछि दुवै टोली २–२ को बराबरीमा रहे ।

दोस्रो हाफमा भने रोनाल्डोले खेल आफ्नो नियन्त्रणमा लिए । उनले ६६औँ मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्दै अल नासरलाई ३–२ को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै फेलिक्सकै अर्को उत्कृष्ट पासमा हेडरमार्फत गोल गर्दै रोनाल्डोले टोलीको अग्रता ४–२ पुर्‍याए ।

८१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल पूरा गरे । साडियो मानेले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । यससँगै रोनाल्डोले खेलमा ह्याट्रिक पूरा गर्नुका साथै आफ्नो करियरको गोल संख्या ९८५ पुर्‍याए । उनी करियरमा एक हजार गोलको ऐतिहासिक उपलब्धि हासिल गर्न अब १५ गोल मात्र टाढा छन् ।

जितसँगै अल नासरले ११ खेलबाट २८ अंक जोडेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यस्तै अल खोलुदको भने ११ खेलमा १२ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै