काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ ।
शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च बारले यसबारेमा सत्यता सार्वजनिक हुनुपर्ने माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ- 'विगत केही दिनदेखि सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन । न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखी प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भीकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्न सरोकारवालालाई अनुरोध गर्दछौँ ।’
साथै, बारले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा संवैधानिक इजलास गठनमा देखिएको विवाद, न्यायिक काममा बाह्य प्रभाव र न्याय सम्पादनमा बिचौलियाको सक्रियताले न्यायपालिकाप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख छ ।
नेपालको संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै बारले इजलास गठन नगरी वा नियमित सञ्चालन नगरी न्याय सम्पादनमा ढिलाइ गर्नु उचित नभएको जनाएको छ ।
सर्वोच्च बारले न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखे प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भिकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्न अनुरोध गर्दै प्रकाशित समाचार सामग्रीहरू, सम्माननीय र माननीय न्यायाधीशज्यूबाट आएको विज्ञप्ति एवम् अभिव्यक्तिहरूको समेतका आधारमा न्यायको मान्य सिद्धान्त बमोजिम पूर्वाग्रही नभई साधिकार निकायलाई निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि थुनामा रहेका इनम सापकोटासँग प्रधानन्यायाधिश र न्यायाधीशहरुको सम्बन्ध रहेको विषय बाहिर आएपछि विषयले अहिले न्यायालयमाथि सार्बजनिक रुपमा प्रश्न उठिरहेको छ ।









