काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो ।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय हो । यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।
समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै काउन्सिलले प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रिया अपनाउन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।
काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्न माग गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आचारसंहिताको पालना गर्न पनि आग्रह गरेको छ ।









