काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमानअनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहेको छ । हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ ।
हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
रातिको समयमा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।









