• २०८३ कार्तिक १६ सोमबार

राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने

राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गरिने

काठमाडौं । नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलासहित विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको अद्यावधिक तथ्याङ्क उपलब्ध गराउनेछ ।

सन् २०१६ मा सम्पन्न राष्ट्रिय सर्वेक्षणको करिब एक दशकपछि हुन लागेको यस अध्ययनमा भिटामिन ‘ए’, भिटामिन ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेटलगायत आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ । यसका साथै रक्तअल्पता, संक्रमण, शारीरिक वृद्धि, पोषण अवस्था तथा सरकारी पोषण कार्यक्रमको पहुँच र प्रभावकारितासमेत अध्ययन गरिनेछ ।

सन् २०२६ अप्रिलदेखि २०२७ मार्चसम्म सञ्चालन हुने सर्वेक्षण देशका सातै प्रदेश र हिमाल, पहाड तथा तराईका विभिन्न क्षेत्रमा गरिनेछ । यसका लागि २८० वटा समूह छनोट गरी ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ जनालाई समेटिनेछ ।

सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी, ६ देखि ९ वर्षका बालबालिका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ । गर्भवती महिलालाई समेत सर्वेक्षणमा समावेश गरिनेछ ।

सर्वेक्षण सञ्चालनका लागि तथ्याङ्क सङ्कलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमुना सङ्कलक, प्रयोगशाला प्राविधिक तथा अन्य गरी २०५ जना जनशक्ति परिचालन गरिनेछ । उनीहरूका लागि नोभेम्बर १७ देखि २८ सम्म तालिम सञ्चालन गरिनेछ ।

सन् २०१६ को सर्वेक्षणले विभिन्न उमेर समूहका नागरिकमा सूक्ष्म पोषक तत्त्वको कमी र रक्तअल्पताको समस्या देखाएको थियो । नयाँ सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले पछिल्लो एक दशकमा भएका पोषण सुधारका कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न तथा आगामी पोषण नीति, योजना र कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै