काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।
आन्तरिक माग पूरा गरेर प्राधिकरणले भारततर्फ समेत ५८७ मेगावाटभन्दा बढी विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो । उक्त समयमा कुल प्रणालीको उच्चतम भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । यस अवधिमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।
प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण थियो ।
प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ७४५ मेगावाट र २०८१ सालमा १ हजार ६०२ मेगावाट पुगेको थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो ।
त्यस्तै, काठमाडौं उपत्यकाको विद्युत् माग यस वर्ष ४८९ मेगावाट पुगेको छ । गत वर्ष उपत्यकाको उच्चतम माग ४०२ मेगावाट रहेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणाली अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो ।
कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।









