काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ । इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा रिपब्लिकन सांसदले नै प्रस्ताव ल्याएका थिए ।
मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा २०४ र विपक्षमा २११ मत परेको थियो । अधिकांश सांसदले प्रस्तावलाई रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको न्यायिक समितिमा पठाउने पक्षमा मतदान गरेपछि तत्कालका लागि महाभियोग प्रक्रिया रोकिएको हो ।
प्रस्ताव रोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी व्यक्त गर्दै देशभक्त नेताको रक्षा गरिएको बताएका छन् । केन्टकीका रिपब्लिकन सांसद थोमस मेसीले सोमबार हेगसेथविरुद्ध आठवटा आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उनले संसद्को स्वीकृतिबिना इरानविरुद्ध ९० दिनभन्दा बढी समयसम्म युद्ध सञ्चालन गरेको आरोप लगाएका थिए ।
त्यस्तै, लागुऔषध तस्करीको आशंकामा रहेका डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणका क्रममा कानुनी प्रक्रिया पूरा नगरी मानिसहरूको हत्या गराएको आरोपसमेत हेगसेथमाथि लगाइएको थियो ।
यता, हेगसेथले महाभियोगको प्रयासलाई निरर्थक र षड्यन्त्रपूर्ण भन्दै अस्वीकार गरेका छन् । मंगलबार पेन्टागनमा करिब छ महिनापछि आयोजित पत्रकार सम्मेलनमा उनले सांसद मेसीको कदमलाई राजनीतिक चालको संज्ञा दिएका थिए । उनले यस्तो प्रस्तावले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने र अमेरिकी सेनाका अधिकारीलाई कानुनी सैन्य कारबाही गरेको भन्दै सजाय दिन खोजिएको सन्देश जाने बताएका थिए ।
हेगसेथले आफूले कुनै गम्भीर अपराध नगरेको, कानुन उल्लंघन नगरेको तथा देशद्रोह वा घुसखोरीमा संलग्न नभएको दाबी गरेका छन् ।
सांसद मेसीले पनि आफ्नो प्रस्ताव तत्काल पारित हुने सम्भावना कम रहेको स्वीकार गरेका थिए । तर, राष्ट्रपति ट्रम्पमाथि हेगसेथलाई पदबाट हटाउन दबाब सिर्जना गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाइ थियो ।
मेसी यसअघि पनि ट्रम्प प्रशासनका नीतिहरूको आलोचना गर्दै आएका थिए। विशेषगरी इरानविरुद्ध युद्ध सुरु भएपछि उनले ट्रम्पको सैन्य नीतिमाथि प्रश्न उठाएका थिए। यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्नुपर्ने माग गर्दै उनले यसअघि पनि ट्रम्प प्रशासनको आलोचना गरेका थिए ।
अमेरिकी संसदीय प्रक्रियाअनुसार, संसद्को कार्यकाल समाप्त भएपछि पनि महाभियोगसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने व्यवस्था छ । आगामी जनवरीमा डेमोक्रेटिक पार्टीले दुवै सदनको नियन्त्रण लिएमा हेगसेथविरुद्ध पुनः महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावना रहेको समाचारमा उल्लेख छ ।









