कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ का ४० वर्षीय दिनेश खाती र उनका ६ वर्षीय छोरा अर्थक खाती घाइते भएका छन् । दिनेशको अवस्था सामान्य रहे पनि अर्थकको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ ।
त्यस्तै, अटो चालक बेलडाँडी गाउँपालिका–१ सिद्धचोकका ४५ वर्षीय ललित सिंह ठकुराठीको अवस्था पनि गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको छ ।
अटोमा सवार १८ वर्षीय हिक्मत ठकुराठी र १५ वर्षीया आशिका ठकुराठीको अवस्था मध्यम रहेको छ । उनीहरूलाई पनि मायामेट्रो अस्पताल पठाइएको छ । अटोमा सवार ३६ वर्षीया सुशीला ठकुराठीको अवस्था सामान्य र २५ वर्षीया शोभा डाँगाको अवस्था मध्यम रहेको छ ।
घाइते सबैलाई सुरुमा उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी निरीक्षक जय पार्कीको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा संलग्न अटो र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय बेलडाँडीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्दछ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।









