• २०८३ मङ्सिर ३ बिहीबार

स्यान्डपेपर विवादमा क्रिकेट अस्ट्रेलियाले स्वतन्त्र मञ्च बनाउने

स्यान्डपेपर विवादमा क्रिकेट अस्ट्रेलियाले स्वतन्त्र मञ्च बनाउने

काठमाडौँ । क्रिकेट अस्ट्रेलियाले सन् २०१८ को चर्चित स्यान्डपेपर विवादमा संलग्न खेलाडी तथा कर्मचारीलाई आफ्ना अनुभव र धारणा राख्न दिने उद्देश्यले स्वतन्त्र मञ्च गठन गर्ने निर्णय गरेको छ । क्रिकेट अस्ट्रेलियाका अन्तरिम अध्यक्ष डेभिड बुन र प्रमुख कार्यकारी टोड ग्रीनबर्गले उक्त घोषणा गरेका हुन् ।

क्रिकेट अस्ट्रेलियाले उक्त मञ्चले पुरानो घटनाको पुनः अनुसन्धान नगर्ने स्पष्ट पारेको छ । विवादमा संलग्न व्यक्तिहरूलाई आफ्नो कुरा राख्ने अवसर दिएर अस्ट्रेलियाली क्रिकेटलाई विवादबाट अगाडि बढाउन मञ्च गठन गर्न लागिएको बताइएको छ ।

दक्षिण अफ्रिकासँगको सन् २०१८ को टेस्ट शृंखलाका क्रममा केपटाउनमा क्यामरुन ब्यानक्रफ्टले स्यान्डपेपर प्रयोग गरी बलको सतह बिगार्न खोजेको घटना सार्वजनिक भएको थियो । त्यसपछि तत्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई १२–१२ महिना तथा ब्यानक्रफ्टलाई नौ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

पूर्वक्रिकेटर उस्मान ख्वाजाले आफ्नो आत्मकथा ‘सब्र’मा उक्त घटनाबारे टोलीका सबै खेलाडी र सहयोगी कर्मचारीलाई जानकारी रहेको दाबी गरेपछि विवाद पुनः चर्चामा आएको हो । उनले दोस्रो टेस्टमा समेत स्यान्डपेपर प्रयोग गरिएको र अनुसन्धानका क्रममा आफ्नो बयान नलिइएको बताएका छन् । वार्नरले ख्वाजाको दाबी सही भएको भन्दै अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

तर मिचेल स्टार्कले मैदानमा स्यान्डपेपर लगिएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् भने कप्तान प्याट कमिन्सले ख्वाजाको दाबी अस्वीकार गरेका छन् । सन् २०२१ मा पनि स्टार्क, कमिन्स, जोस हेजलवुड र नाथन लायनले बल छेडछाडबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै