काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.३७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणअनुसार असोज मसान्तसम्म यस्तो मूल्यवृद्धि देखिएको हो ।
राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २७ अर्ब ३२ करोड रहेको छ । उक्त सञ्चितिले १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।
यस अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.२ प्रतिशत र अमेरिकी डलरमा १६.७ प्रतिशतले बढेको छ । असोजसम्म २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । निर्यात ५७ प्रतिशतले बढ्दा आयात ३६.२ प्रतिशतले बढेको छ । चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर बचत ३ खर्ब ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
सरकारको खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ र राजस्व परिचालन २ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप २.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १.०१ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको छ ।









