काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिमा काम गर्ने अमेरिकी कम्पनी एन्थ्रोपिक सेयर बजारमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान सार्वजनिक कम्पनीमध्ये एक बनेको छ ।
बिहीबार अमेरिकी सेयर बजार नास्डाकमा कारोबार सुरु गरेको कम्पनीको बजार मूल्यांकन करिब १.७६ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।
एन्थ्रोपिकले प्रतिकित्ता ८३ डलरको प्रारम्भिक मूल्यमा सेयर निष्कासन गरेको थियो । कारोबार सुरु भएलगत्तै सेयर मूल्य बढेर १११.५३ डलर पुगेको थियो । तर दिनको अन्त्यमा घटेर ९७.१७ डलरमा बन्द भएको थियो । यससँगै कम्पनीको सेयर मूल्य पहिलो दिनमै करिब १७ प्रतिशतले बढेको छ ।
कृत्रिम बौद्धिकतामा आधारित चर्चित संवाद प्रणाली क्लाउड निर्माण गरेको एन्थ्रोपिक करिब पाँच वर्षअघि स्थापना भएको कम्पनी हो । प्रविधि क्षेत्रमा भइरहेको ठूलो लगानीका बीच कम्पनीको सेयर बजार प्रवेशलाई कृत्रिम बौद्धिकता उद्योगको भविष्य र लगानीकर्ताको विश्वास परीक्षण गर्ने महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ । पछिल्लो एक वर्षमा ठूला प्रविधि कम्पनीहरूले कृत्रिम बौद्धिकता विकासमा एक ट्रिलियन डलरभन्दा बढी लगानी गरिसकेका छन् ।
तर यस क्षेत्रमा भइरहेको तीव्र लगानीले वित्तीय जोखिम र बजारमा कृत्रिम मूल्यवृद्धि हुन सक्ने आशंका पनि बढाएको छ । एन्थ्रोपिकको सेयर कारोबार सुरु भएकै दिन प्रविधिमा आधारित नास्डाक सूचकांक २.३ प्रतिशतले घटेको थियो । गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर २.९ प्रतिशत र अमेजनको सेयर करिब ३.९ प्रतिशतले घटेको थियो ।
कृत्रिम बौद्धिकताको सुरक्षा, सरकारी नियमन र प्रविधिको व्यावसायिक सम्भावनाले एन्थ्रोपिकको आगामी बजार प्रदर्शन निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ । कम्पनीले प्रविधिको सुरक्षित प्रयोगलाई प्राथमिकता दिँदै आएको जनाएको छ । कम्पनीका अध्यक्ष डानिएला अमोडेईले पहिलो उत्पादन सार्वजनिक गर्नुअघि नै कृत्रिम बौद्धिकता सुरक्षासम्बन्धी टोली गठन गरिएको बताएकी छन् ।









