काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी छन् ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती भएको बताएकी हुन् ।
उनले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले संक्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने र स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गर्ने उल्लेख गरिन् । यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगको अवस्था अध्ययन गर्ने प्रोटोकल पनि सार्वजनिक गरिएको छ । यसले औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन र प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मन्त्री मेहताले चिकित्सकको सल्लाहबिना एन्टिमाइक्रोबियल औषधि प्रयोग नगर्न नागरिकलाई आग्रह गर्दै खोप, संक्रमण नियन्त्रण, सुरक्षित खानेपानी र सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताइन् ।









