काठमाडौँ । नेपाल प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका समस्या तथा गुनासा सुनुवाइ गर्न केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना गरेको छ ।
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले शुक्रबार उक्त डेस्कको उद्घाटन गरेका हुन् । उनले प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैपटक गुनासा दर्ता गर्न सकिने विद्युतीय फारामको लिङ्क पठाएका थिए । साथै, एक प्रहरी कर्मचारीसँग प्रत्यक्ष टेलिफोन संवाद गरी उनको गुनासो सुनेपछि डेस्कको औपचारिक शुभारम्भ गरेका थिए ।
प्रहरी नियमावली, २०७१ को नियम १९६ अनुसार स्थापना गरिएको डेस्कको उद्देश्य तल्लो तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई सुरक्षित, सम्मानित र न्यायोचित बनाउनु रहेको छ ।
प्रहरी महानिरीक्षक केसीले कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा अन्य गुनासोको निष्पक्ष सुनुवाइ गरी समयमै सम्बोधन गर्न डेस्कमा खटिएका अधिकारीलाई निर्देशन दिएका छन् ।
यस व्यवस्थाले नेपाल प्रहरीभित्र तल्लो तहका कर्मचारीका समस्या र गुनासो सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।









