• २०८३ मङ्सिर ७ सोमबार

इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

इजरायलमा नयाँ सरकार गठनको प्रयास तिब्र, नेतान्याहूको दललाई गठबन्धनको प्रस्ताव

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनका लागि गादी आइजेनकोट नेतृत्वको याशार पार्टीले बेन्जामिन नेतान्याहूको लिकुड पार्टीलाई गठबन्धनमा आउन निमन्त्रणा दिएको छ । तर, आइजेनकोटले प्रधानमन्त्री पद भने नेतान्याहूलाई नदिने स्पष्ट पारेका छन् ।

दुवै दलबीच आइतबार गठबन्धन सरकार गठनबारे छलफल हुने भएको छ । अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि गठबन्धनले बहुमत प्राप्त गर्न सकेका थिएनन् । १२० सदस्यीय संसद्मा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्नेमा नेतान्याहूको गठबन्धनले ५३ र आइजेनकोटको गठबन्धनले ४८ सिट प्राप्त गरेका छन् ।

१९ सिट रहेको अरब दलहरूको समर्थन पाएपछि राष्ट्रपति इसाक हर्जोगले आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका छन् । तर, अरब दलसँग सरकार बनाउनुपर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै मतभेद देखिएको छ ।

पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले आइजेनकोटलाई समर्थन गरे पनि नेतान्याहू नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । उनले नयाँ सरकार गठनका लागि सन् २०२३ को हमास आक्रमणमा भएको सुरक्षा कमजोरीको छानबिन, प्रधानमन्त्रीको कार्यकाल अधिकतम आठ वर्षमा सीमित गर्नुपर्ने र सैनिकलाई आर्थिक सुविधामा प्राथमिकता दिनुपर्ने माग राखेका छन् ।

आइजेनकोटलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ । आवश्यक परे थप १४ दिन समय थप्न सकिने व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै