काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा भइरहेको विकासलाई सम्बोधन गर्ने उद्देश्यले चलचित्र विधेयक ल्याइएको बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले पुरानो कानुनले वर्तमान आवश्यकता सम्बोधन गर्न नसक्ने भन्दै नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नुपर्ने र विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्नुपर्ने बताए ।
विधेयकमा चलचित्र विकास बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउने, बक्स अफिस प्रणाली व्यवस्थित गर्ने, चलचित्रकर्मीको श्रम अधिकार संरक्षण गर्ने, मातृभाषाका चलचित्र प्रवर्द्धन गर्ने तथा विदेशी लगानी आकर्षित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउने, स्वदेशी चलचित्रको बजार विस्तार गर्ने तथा चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषय पनि विधेयकमा समेटिएको छ ।
सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्न नयाँ विधेयक अघि बढाएको हो ।









