काठमाडौं । विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमा सेल ब्रोडकास्ट प्रणाली (सिबिएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।
सोमबार सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समन्वयमा नेपाल टेलिकमले नियन्त्रित वातावरणमा उक्त प्रणालीको परीक्षण गरेको हो ।
परीक्षणका क्रममा तोकिएका मोबाइल उपकरणमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना सफलतापूर्वक प्राप्त भएको थियो ।
सेल ब्रोडकास्ट प्रणालीमार्फत विपद्को जोखिममा रहेका निश्चित भौगोलिक क्षेत्रका मोबाइल प्रयोगकर्तालाई एकैपटक पूर्वसूचना पठाउन सकिन्छ । यस प्रणालीले विशेषगरी बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला नागरिकलाई समयमै सचेत गराउन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
दोस्रो पुस्ताको दूरसञ्चार सञ्जालमा प्रारम्भिक परीक्षण सफल भएसँगै थप प्राविधिक परीक्षण र आवश्यक तयारी पूरा गरी बाढीको उच्च जोखिम रहेका क्षेत्रमा यो प्रणाली चरणबद्ध रूपमा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षा तथा जनधनको क्षति न्यूनीकरण गर्ने सरकारी प्रयासमा यो परीक्षणलाई महत्त्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा लिइएको छ ।









