काठमाडौं । अमेरिकाले सिंगापुरको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मेगास्पिडमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । एनभिडियासँग जोडिएको विवादमा कथित संलग्नता रहेको आरोपमा अमेरिकाले उक्त कम्पनीलाई प्रतिबन्धित कम्पनीको सूचीमा राख्न लागेको हो ।
अमेरिकी वाणिज्य विभागले मेगास्पिड लिमिटेडलाई अमेरिकामा सामान खरिद तथा बिक्री गर्न प्रतिबन्ध लगाइएका कम्पनीको सूचीमा समावेश गर्ने योजना बनाएको जनाएको छ । यद्यपि प्रतिबन्ध कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट पारिएको छैन ।
मुख्यतः तथ्याङ्क केन्द्र निर्माणको काम गर्दै आएको मेगास्पिड पछिल्लो समय विवादमा आएको हो । कम्पनीकी पूर्वअधिकारी एलिस ह्वाङमाथि चीनका लागि जासुसी गरेको आरोप लागेको छ । साथै, उनको एनभिडियाका प्रमुख जेन्सेन ह्वाङसँग व्यक्तिगत सम्बन्ध रहेको दाबी सार्वजनिक भएपछि अमेरिकी अधिकारीहरूको अनुसन्धान थप तीव्र भएको थियो ।
अमेरिकी अधिकारीहरूलाई मेगास्पिडले एनभिडियाका अत्याधुनिक कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्प्युटर चिप चीन पुर्याइरहेको आशंका छ । यसले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता बढाएको बताइएको छ ।
यसअघि मेगास्पिडबारे अमेरिकामा खासै चर्चा थिएन । तर कम्पनीकी पूर्वअधिकारी र एनभिडियाका प्रमुखबीचको कथित सम्बन्धबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनी चर्चामा आएको हो ।
चीनले एलिस ह्वाङ जासुस रहेको आरोप अस्वीकार गरेको छ। साथै, एआई प्रविधिमा प्रतिबन्ध लगाउने बहाना नबनाउन चीनले अमेरिकालाई चेतावनी दिएको छ ।
चीनले अमेरिकालाई यस विवादलाई एआई प्रविधिमा अवरोध सिर्जना गर्ने माध्यम नबनाउन आग्रह गरेको छ ।









