काठमाडौं । काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि विद्यालय तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार वडा नम्बर २९ मा अभिभावक, बालबालिका तथा जनप्रतिनिधिको उपस्थितिमा भवनको शिलान्यास गरेकी हुन् ।
९ करोड ७७ लाख ४५ हजार रुपैयाँमा निर्माण सम्झौता भएको भवन पाँचतले हुनेछ। १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा बन्ने भवनमा तालिम तथा प्रशिक्षण कक्ष, प्रशासन र अनुसन्धान कक्षलगायत संरचना रहनेछन् । महानगरपालिकाका अनुसार भवन निर्माण २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले अटिजम भएका बालबालिकालाई समान अवसर र गुणस्तरीय शिक्षा प्रदान गर्न महानगरपालिकाले विशेष कार्यक्रम अघि बढाएको बताइन् । भवन निर्माण सम्पन्न हुँदासम्म विद्यालय सञ्चालनसम्बन्धी कार्यविधि तयार गरिने उनको भनाइ छ ।
भवनबाट अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य महानगरपालिकाले लिएको छ ।









