• २०८३ मङ्सिर ९ बुधबार

फुटबलर स्टर्लिङलाई १२ महिनाको निलम्बित जेल सजाय

फुटबलर स्टर्लिङलाई १२ महिनाको निलम्बित जेल सजाय

काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर रहिम स्टर्लिङलाई गाडी दुर्घटनाको घटनमा १२ महिनाको निलम्बित जेल सजाय सुनाइएको छ । अदालतले दिएको १२ महिनाको जेल सजाय १८ महिनाका लागि निलम्बन गरेको छ ।

बुधबार बेलायतको बेसिङस्टोक मजिस्ट्रेट अदालतले ३१ वर्षीय स्टर्लिङलाई दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाउनुका साथै १०० घण्टा निःशुल्क सामाजिक सेवा गर्न आदेश दिएको हो ।

१८ महिनामा अदालतको आदेश पालन गरेमा र अन्य अपराध नगरेमा उनले जेल बस्नु भने पर्ने छैन । 

स्टर्लिङले गत मे २८ मा आफ्नो ल्याम्बोर्गिनी गाडी बेलायतका एम२५ र एम३ राजमार्गसहित विभिन्न सडकमा खतरनाक तरिकाले चलाएका थिए । उनले गाडी चलाउने क्रममा नाइट्रस अक्साइड अर्थात् लाफिङ ग्यास भरिएको बेलुनबाट ग्यास सेवन गरेको प्रत्यक्षदर्शीले बताएका थिए ।

अदालतमा प्रस्तुत गरिएको सवारीसाधनको दृश्यमा उनको गाडी पटकपटक लेन परिवर्तन गर्दै अनियन्त्रित रूपमा गुडेको र सडकको बीचमा रहेको अवरोधसँग ठोक्किनबाट मुस्किलले जोगिएको देखिएको थियो । अन्ततः गाडी सडकछेउको संरचनामा ठोक्किएको थियो । घटनामा अन्य कुनै सवारीसाधन संलग्न थिएनन् र मानवीय क्षति पनि भएको थिएन ।

स्टर्लिङले खतरनाक तरिकाले गाडी चलाएको, नाइट्रस अक्साइड राखेको र प्रहरीलाई परीक्षणका लागि रगतको नमुना दिन अस्वीकार गरेको तीनवटै आरोप स्वीकार गरेका थिए । उनको गाडीबाट नाइट्रस अक्साइडका ६ वटा सिलिन्डरसमेत भेटिएका थिए ।

स्टर्लिङले इंग्ल्यान्डका लागि ८२ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलबाट व्यावसायिक फुटबल खेलेका थिए । म्यानचेस्टर सिटीबाट उनले चार पटक प्रिमियर लिगको उपाधिसमेत जितेका छन् । पछिल्लो समय नेदरल्यान्ड्सको फेयेनोर्डबाट खेलेका उनी हाल क्लबविहीन छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै