• २०८३ मङ्सिर १० बिहीबार

नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको फैसला म्यान्मारले नमान्ने

नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको फैसला म्यान्मारले नमान्ने

काठमाडौं । म्यानमारका सैन्य शासक मिन आङ ह्लाइङले रोहिंग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालयको फैसलाका आफूलाई अनुपयुक्त लाग्ने प्रावधान पालना नगर्ने बताएका छन् ।

अदालतको फैसलापछि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै उनले जिम्मेवार देशका रूपमा उचित कदम चाल्ने तर अनुपयुक्त ठहरिएका निर्देशन पालना नगर्ने बताएका हुन् ।

अन्तर्राष्ट्रिय न्यायालयले गत साता सन् २०१७ मा म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि गरेको सैन्य कारबाहीलाई नरसंहार ठहर गरेको थियो । उक्त कारबाहीमा करिब १० हजार रोहिंग्याको हत्या भएको र सात लाखभन्दा बढी विस्थापित भएर बंगलादेश पुगेको अदालतले जनाएको थियो ।

सन् २०१९ मा गाम्बियाले दायर गरेको मुद्दामा न्यायालयले म्यानमारले सन् १९४८ को नरसंहारसम्बन्धी महासन्धिका विभिन्न प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । नौ न्यायाधीशको समर्थन र छ जनाको असहमतिमा आएको फैसला अन्तिम भएकाले त्यसविरुद्ध पुनरावेदन गर्न मिल्दैन ।

अदालतले म्यानमारलाई नरसंहारसम्बन्धी गतिविधि रोक्न, दोषीमाथि अनुसन्धान गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । यद्यपि, फैसला कार्यान्वयन गराउने प्रत्यक्ष शक्ति भने अदालतसँग छैन । त्यसका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय दबाबमा निर्भर रहनुपर्ने अवस्था छ ।

म्यानमारले नरसंहारको आरोप अस्वीकार गर्दै आएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि देश गृहयुद्धमा फसेको छ भने सैन्य नेतृत्वमाथि विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेका छन् । अदालतको फैसलालाई रोहिंग्या समुदाय र मानव अधिकारवादी संस्थाहरूले लामो समयदेखि न्यायको मागपछि प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै