• २०८३ मङ्सिर १० बिहीबार

पूर्वमुख्यसचिव अर्याल पक्राउ बारे सीआईबीले के भन्यो ?

पूर्वमुख्यसचिव अर्याल पक्राउ बारे सीआईबीले के भन्यो ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको जनाएको छ ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यस प्रकरणमा मलेसिया र नेपाल सरकारबीच भएको समझदारीविपरीत श्रमिकबाट रकम असुली गरिएको आरोप छ ।

ब्युरोका अनुसार गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाउने निर्णय गरिएको थियो ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराइएको तथा संगठित समूहको लाभका लागि श्रमिक ठगी हुँदा पनि कानुनी उपचार नगरिएको सीआईबीको आरोप छ ।

यस प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट २०८३ मंसिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको ब्युरोले जनाएको छ ।

सीआईबीका अनुसार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसमेत रहेका ५९ वर्षीय अर्याललाई २०८३ मंसिर १० गते मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनीमाथि अवैध रूपमा संकलित रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको तथा आर्थिक लाभ लिने र दिलाउने कार्यमा भूमिका रहेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै