Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

मस्कको न्युरालिंकलाई मानव परीक्षणको निर्णायक चरण अघि बढाउन अनुमति

मस्कको न्युरालिंकलाई मानव परीक्षणको निर्णायक चरण अघि बढाउन अनुमति

काठमाडौं । एलन मस्कको न्युरोटेक कम्पनी न्युरालिंकले मस्तिष्कमा जडान गरिने उपकरणको मानव परीक्षणलाई थप अघि बढाउन अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट अनुमति पाएको छ ।

कम्पनीले अमेरिकामा ‘लिङ्क’ नामक उपकरणको निर्णायक मानव परीक्षण सुरु गर्न अनुमति पाएको जानकारी दिएको हो । मस्तिष्क र कम्प्युटरबीच सीधा सम्पर्क स्थापित गर्ने प्रत्यारोपणयुक्त उपकरणको यो अमेरिकामा पहिलो निर्णायक मानव परीक्षण हुने कम्पनीको दाबी छ ।

यसअघि न्युरालिंकको मानव परीक्षण प्रारम्भिक चरणमा सीमित थियो । ती परीक्षणमा उपकरणको सुरक्षा र काम गर्ने क्षमताको अध्ययन गरिएको थियो । निर्णायक परीक्षणमा भने उपकरण सुरक्षित र प्रभावकारी छ कि छैन भन्ने प्रमाण जुटाउन ठूलो स्तरमा अध्ययन गरिन्छ । तर, एफडीएको अनुमतिले उपकरण व्यावसायिक रूपमा बिक्री गर्न भने अनुमति दिएको छैन । यो अझै परीक्षणकै चरणमा छ । कम्पनीले परीक्षणमा सहभागी हुने व्यक्तिको सङ्ख्या र अवधि सार्वजनिक गरेको छैन ।

सन् २०१६ मा मस्कसहितका संस्थापकहरूले स्थापना गरेको न्युरालिंकले विकास गरेको ‘एन१’ चिप सिक्काको आकारको छ । यसलाई टाउकोको हड्डीभित्र प्रत्यारोपण गरिन्छ । कम्पनीको ‘आर१’ नामक विशेष रोबोटले शरीर चलाउने मस्तिष्कको भागमा अत्यन्तै मसिना तारजस्ता विद्युतीय उपकरण जडान गर्छ ।

व्यक्तिले कुनै काम गर्ने सोच बनाउँदा ती उपकरणले मस्तिष्कबाट निस्कने विद्युतीय सङ्केत टिप्छन् । कम्पनीको सफ्टवेयरले ती सङ्केतलाई बुझेर ताररहित माध्यमबाट फोन वा कम्प्युटरमा पठाउँछ । यसबाट प्रयोगकर्ताले सोचेकै भरमा कम्प्युटरको पर्दामा देखिने सङ्केतक चलाउन वा टाइप गर्न सक्छन् ।

तर, यो प्रविधि पक्षघात वा एएलएस रोगको उपचार होइन । यसले प्राकृतिक रूपमा शरीर चलाउने, संवेदना महसुस गर्ने वा बोल्ने क्षमता फर्काउँदैन । यो ती क्षमता गुमाएका व्यक्तिलाई विद्युतीय उपकरण प्रयोग गर्न सहयोग गर्ने प्रविधि हो ।

न्युरालिंकले सन् २०२४ जनवरीमा पहिलोपटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो । डाइभिङ दुर्घटनापछि काँधमुनिको भाग नचल्ने नोल्यान्ड अर्बाउ पहिलो सहभागी बनेका थिए । उनले सोचेकै भरमा अनलाइन चेस र भिडियो खेल खेलेका थिए ।

सन् २०२५ मा ब्राडफोर्ड स्मिथ मस्तिष्कबाट प्राप्त सङ्केतका आधारमा टाइप गर्ने पहिलो एएलएस रोगी बनेका थिए । हालसम्म विश्वभर मेरुदण्डमा चोट लागेका तथा एएलएस भएका ३० भन्दा बढी व्यक्तिमा यो प्रविधिको परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

न्युरालिंकका अनुसार मांसपेशी कमजोर हुँदै पक्षघातसम्म गराउन सक्ने स्नायु प्रणालीसम्बन्धी रोग एएलएस भएका व्यक्ति पनि ‘लिङ्क’ परीक्षणमा सहभागी हुन योग्य हुन सक्छन् । तर, एएलएस रोग लागेको आधारमा मात्रै सहभागी हुन पाइने छैन । परीक्षणमा सहभागी हुने विस्तृत मापदण्ड सार्वजनिक गरिएको छैन । इच्छुक व्यक्तिले कम्पनीको परीक्षणसम्बन्धी वेबसाइटमार्फत आवेदन दिएपछि आवश्यक स्वास्थ्य परीक्षण र छनोट प्रक्रिया पार गर्नुपर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै