• २०८१ बैशाख १४ शुक्रबार

बिम्स्टेकमा सम्मेलन सम्पन्न, काठमाडौँ घोषणापत्रमा के के विषय छन् ? 

kharibot

काठमाडौं । नेपालले आयोजना गरेको चौँथो बिम्स्टेक सम्मेलन सकिएको छ । बिहीबार र शुक्रबार नेपालको राजधानी काठमाडौंमा सम्पन्न सम्मेलनमा सदस्यराष्ट्रहरु भारत, भुटान, म्यान्मार, थाईल्याण्ड, बंगलादेश, नेपाल र श्रीलंकाका सरकार तथा राष्ट्रप्रमुखको उपस्थिति थियो । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्स्टेक सफलताका साथ सम्पन्न भएको पत्रकारहरुलाई जानकारी दिएका छन् । तयारीका लागि छोटो समयका बाबजुद महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन गर्न सकेकोमा खुसी व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सम्मेलनलाई सफल बनाउन लाग्ने सुरक्षाकर्मी, राजनीतिक दल, कर्मचारीलगायत सबैलाई धन्यवाद दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन सफल भएकोमा सबैप्रति आभार व्यक्त गरेको मिडियालाई जानकारी दिए ।

नेपाल २०१४ यता बिम्स्टेकको अध्यक्ष राष्ट्र रहेको थियो भने अबको सम्मेलन श्रीलंकाले गर्नेछ अध्यक्ष राष्ट्रको रुपमा । यो सम्मेलनले पारस्परिक सहयोगलाई जोड दिएको उनले बताए ।

सम्मेलनका क्रममा १६औँ बिम्स्टेक मन्त्रीस्तरीय बैठक भएको थियो । बंगालको खाडीलाई शान्ति, समृद्धिको बाटोमा दिगो बनाउने भन्ने नारामा सम्मेलन सम्पन्न भएको हो । यसमा सबै सदस्यराष्ट्रका प्रमुखको उपस्थिति थियो । यो सम्मेलनले बिम्स्टेकको सन् १९९७ को बैंकक घोषणापत्रको उद्देश्य र सिद्धान्तमा रही आगामी दिनमा सहयोगलाई सार्वभौमिकता, समानता, क्षेत्रीय एकता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा दख्खल नपुर्याउने र सबैको हित हुने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री ज्ञवालीले बताए ।

यो सम्मेलनले गरिबी न्यूनीकरण र दिगो विकासलाई सन् २०३० भित्र कार्यान्वयन गर्न सँगै काम गर्ने प्रतिबद्धता जनाएको छ । त्यसैगरी, विविध प्रकारले एकअर्कासँग जोडिने, व्यापार र लगानीमार्फत आर्थिक एकता र सामाजिक विकास गर्ने कुरालाई पनि सम्मेलनले जोड दिएको छ । 

त्यस्तै सम्मेलनले भूपरिवेष्ठित राष्ट्रको विशेष आवश्यकता र परिस्थितिलाई दृष्टिगत गर्दै सार्थक सहयोग र विकास प्रक्रियामा सघाउने कुरामा पनि प्रतिबद्धता व्यक्त गरिएको मन्त्री ज्ञवालीको भनाइ छ । त्यस्तै यो सम्मेलनले बिम्स्टेकलाई गतिशील, प्रभावकारी र नतिजा दिने संगठन बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

त्यसैगरी, दक्षिण र दक्षिण पूर्वी एसियालाई पुलको रुपमा बिम्स्टेकले जोड्ने र यसले शान्ति, समृद्धि दिगो हुनेमा सबै सदस्य राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी यो सम्मेलनले पारदर्शी, कानुनमा रहेर र अन्तर्राष्ट्रिय नियममा प्रतिबद्धता व्यक्त गर्दै बहुराष्ट्रिय सहयोगलाई जोड दिएको छ । यसले राष्ट्रसंघको केन्द्रीयतामा हुने अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई जोड दिएको छ ।

त्यसैगरी सबैखाले आतंकवादका स्वरुपलाई निरुत्साहन गरेको छ भने यसका लागि जुध्न साझा प्रयास गरिने नेताहरुले सहमति गरेका छन् ।यस सम्मेलनले सन् २०१४ मा म्यान्मारको न्यापितमा आयोजित तेस्रो सम्मेलन र त्यसपछि भएका प्रगतिको समेत समीक्षा गरेको छ ।

सम्मेलनले जारी गरेको काठमाडौँ घोषणापत्रका प्रमुख विषय : 

१. सांगठनिक सुधार 

यसअन्तर्गत संगठनको सुधार गर्ने निर्णय गरिएको छ । जसअन्तर्गत बिम्स्टेकको स्थायी कार्यदल समिति –पर्मानेन्ट वर्किंग कमिटी (बीपीडब्ल्युसी) स्थापना गरिनेछ ।सम्मेलनले बिम्स्टेकलाई दीर्घकालसम्म दूरदर्शी भएर एकअर्कामा सहयोग गर्ने गरी उक्त कमिटी गठन गर्ने भएको हो । यसलाई पाँचौँ सम्मेलनले स्वीकार्नेछ ।

बिम्स्टेक मेकानिज्मको लागि रुल्स अफ प्रोसिड्युर पनि विकास गर्ने सम्मेलनले निर्णय गरेको छ । त्यसैगरी बिम्स्टेक डेभलपमेन्ड फण्ड –बीडीएफ) स्थापना गरी सदस्यराष्ट्रले योगदान गर्ने सम्मेलनले निर्णय गरेको छ ।

त्यस्तै बिम्स्टेकको सचिवालयको सांगठनिक क्षमता अभिवृद्धि गर्न आर्थिक तथा मानवीय स्रोतहरु सक्रिय पार्ने र प्रोजे्रक्ट र प्रोग्रामहरुलाई सञ्चालन गर्ने सम्मेलनले निर्णय गरेको छ । यस्तै निर्देशकको संख्या सात पुर्याउने निर्णय पनि गरिएको छ ।

यस्तै, सम्मेलनले अहिलेको सहयोग क्षेत्रको पुनर्विचार, पुनर्संरचना समेत गर्ने भएको छ । यसलाई बीपीडब्ल्युसीले अगाडि बढाउनेछ ।

२. गरिबी उन्मूलन 

सम्मेलनले बंगाल खाडी क्षेत्रको गरिबी २०३० भित्र निवारण गर्ने प्रतिबद्धता जनाएको छ ।

३. कनेक्टिभिटी (जोडिने) 

सदस्यराष्ट्रहरुले एकअर्कासँग जोडिने गरी यातायात विकास गर्ने र सहज ढंगबाट सदस्यराष्ट्रसँगको पहुँच पुर्याउने कुरामा प्रतिबद्धता जनाएका छन् । यसका लागि सडक हाइवेको विकास, रेलवे निर्माण, जलयातायात, समुद्री रुटहरु निर्माण गर्ने जनाइएको छ । यस्तै कोस्टल शिपिंग एग्रिमेन्ट र मोटोर भेहिकल एग्रिमेन्ट छिट्टै गरिनेछ । यसका लागि चाँडै गुरुयोजना बनाइने र मोडालिटी कार्यान्वयन गरिने भएको छ ।

त्यसैगरी यस क्षेत्रका मानिसहरुमा उच्च गतिको इन्टरनेटको पहुँच विस्तार गरिने तथा सञ्चार प्रविधिलाई चुस्त पार्न कार्यदल समिति चाँडै स्थापना गरिने भएको छ ।

४. व्यापार र लगानी

व्यापार र लगानीबारेका यसअघिका प्रतिबद्धतालाई नवीकरण  गरिने भएको छ । यसमा स्वतन्त्र व्यापार क्षेत्र पर्दछ । बिम्स्टेकको बिजनेस फोरम र इकोनोमिक फोरमका गतिविधिलाई तीव्र पारिने भएको छ । त्यस्तै, भिसासँग सम्बन्धित कुराहरुमा छलफलका लागि विज्ञहरु तोक्ने निर्णयमा पनि सहमति भएको छ ।

५. प्रतिआतंकवाद र ट्रान्सनेशनल क्राइम

आपराधिक कुराहरुमा एकअर्का राष्ट्रले कानुनी सहयोग गर्ने भएका छन् । त्यसैगरी आतंकवादसँग लड्न एक हुने भएका छन् । त्यसैगरी, लागूऔषध कारोबार तथा सीमापार अपराधलाई नियन्त्रण गरी पारस्पिरिक सहयोगलाई अभिवृद्धि गर्ने सम्मेलनले जोड दिएको छ ।

६. वातावरण तथा विपद् व्यवस्थापन 

यो सम्मेलनले विपद्व्यवस्थापन गर्न र प्राकृतिक विपत्तिका बेला सहयोग गर्न इन्टरगभर्नमेन्ट एक्स्पर्ट ग्रुप स्थापना गर्ने निर्णय गरेको छ ।

७. जलवायु परिवर्तन 

सम्मेलनले पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सहमतिमा अडिग रहे पनि दायित्व र क्षमतालाई भने फरक ढंगले मनन गर्ने भएको छ । वातावरण परिवर्तन, जलवायु परिवर्तनप्रति ध्यानाकर्षण गर्दै हिमाली र पर्वतीय क्षेत्रमा ग्लाबल वार्मिंगले परेको प्रभावप्रति सचेत रहने निर्णय गरेको छ । त्यस्तै, इन्डियन ओसन र बंगाल खाडीसँग तिनीहरुको सम्बन्धबारे पनि बिम्स्टेक राष्ट्रको ध्यानाकर्षण भएको छ । यसबारे अध्ययन गर्न विज्ञसमूह गठन गरिने भएको छ ।

८. ऊर्जा 

ऊर्जा सहयोगका लागि योजना निर्माण गरिने भएको छ । यसका लागि पनि विज्ञ समूह गठन गरिने भएको छ । त्यस्तै ग्रिड इन्टरकनेक्सनबारे पनि सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक इनर्जी सेन्टरलाई यस क्षेत्रमा प्रभावकारी बनाउन पनि सम्मेलनले जोड दिएको छ । 

९. प्रविधि 

प्रविधिको क्षेत्रसँग सम्बन्धित सरसहयोग आदान प्रदान गर्ने सहमति भएको छ । यसलाई माइक्रो, स्मल र मेडियम इन्टरप्राइजेजका रुपमा अगाडि बढाइनेछ । यससम्बन्धी श्रीलंका सम्मेलनमा हस्ताक्षर गर्ने गरी बिम्स्टेक टेक्नोलजी ट्रान्सफर फेसिलिटी स्थापना गरिने सहमति भएको छ । यस क्षेत्रमा प्रविधि विस्तारकमो लागि शिक्षा र मानवस्रोत विकासमा सहयोग गर्न सहमति भएको छ ।

१०. कृषि 

सम्मेलनले कृषि सहयोगलाई घनीभूत पार्ने, बाली, पशुपालन, फार्म मेसिनरी र हार्वेष्ट मेनेजमेन्टमा अघि बढ्ने सहमति गरेको छ । त्यस्तै खाद्य तथा पोषणको सुरक्षा, परम्परागत कृषिको विस्तार र प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

११. मत्स्यपालन 

यससम्बन्धी क्षेत्रमा मत्स्यपालनलाई खाद्य सुरक्षाका लागि जोड दिइएको छ । भूपरिवेष्ठित राष्ट्रले कसरी इनल्याण्ड फिसेरिजको उपभोग गर्ने भन्ने कुरामा पनि सहयोग गरिने भएको छ । 

१२. सार्वजनिक स्वास्थ्य 

नसर्ने रोगहरुलाई सम्बोधन गर्न तथा एचआईभी, एड्स, मलेरिया, डेंगो, ट्युबरक्लोसिस, भाइरल इन्फ्लुएन्जा, स्वाइन इनफ्लुएन्जाजस्तार रोग निवारणमा पारस्परिक सहयोग अभिवृद्धि गरिने भएको छ । 

१३. जनता–जनता सम्बन्ध 

धेरै तहमा सदस्यराष्ट्रका जनताबीच सिधा सम्पर्कमा जोड दिइएको छ । यसका लागि बिम्स्टेक नेटवर्क अफ पोलिसी थिंक ट्यांक –बीएनपीटीटी) बनाइने भएको छ । त्यसैगरी, बिम्स्टेक संसद, विश्वविद्यालय, अनुसन्धान संस्था, सांस्कृतिक संस्था र सञ्चार संस्थाबीच तादात्म्य मिलाएर जनताबाट जनताले सम्पर्क गर्ने प्रणालीलाई जोड दिइएको छ । 

१४. सांस्कृतिक सहयोग 

सम्मेलनले बुद्धिष्ट सर्किट निर्माणलाई जोड दिएको छ । बुद्धिज्मलाई सम्पर्कसूत्र बनाएर क्षेत्रीय एकता गर्ने कुरामा सहमति गरिएको छ । त्यस्तै यसका लागि बिम्स्टेकका संस्कृति मन्त्रीहरुले नियमित बैठक आयोजना गर्ने भएका छन् ।

१५. पर्यटन 

त्यसैगरी बिम्स्टेकका पर्यटनलाई प्रवद्र्धन गर्ने सहमति भएको छ । पर्यटन रणनीति बनाउने र आवश्यक कदम चालिने भएको छ । बुद्धिष्ट सर्किट, टेम्पल टुरिष्ट सर्किट, पदमार्ग, इको टुरिजम र मेडिकल टुरिजममा नेताहरु सहमत भएका छन् । त्यसैगरी सम्मेलनले नेपालले प्रस्ताव गरेको भिजिट नेपाल इयर २०२० र बिम्स्टेक टुरिजम कनक्लेभ इन नेपाललाई स्वागत गरेको छ । 

१६. पर्वतीय अर्थतन्त्र 

सम्मेलनले पर्वतीय इकोसिष्टमलाई जोगाउन, तिनीहरुको बायो डाइभर्सिटीलाई कायम राख्न आवश्यक कदम चाल्न सदस्य राष्ट्र सहमत भएको छ । त्यस्तै, सदस्यराष्ट्रका पर्वतीय अर्थतन्त्रको प्रवद्र्धनमा पनि नेताहरु सहमत भएका छन् । यसका लागि विज्ञ समूह गठन गरिनेछ ।   

१७. ब्लु इकोनोमी 

यस क्षेत्रका ब्लु इकोनोमीका क्षेत्रहरुमा सहयोग गर्ने सहमति भएको छ । यसका लागि विज्ञ समूह गठन गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै