• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग चीनको पावर चाइना कम्पनीले बनाउने 

kharibot

काठमाडौं। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त संयुक्त विकास सम्झौता सम्पन्न भएको छ ।

पूर्वाधार विकास कम्पनीले बुधबार एक बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गएको साउन ९ गते पावर चाइनासँग सम्झौता सम्पन्न भएको जनाएको छ । 

पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५% सम्म लगानी गर्ने सहमति गरेको छ । साथै पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेर तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेस गरिसकेको छ । पुनरावलोकनपश्चात यस परियोजनामा सडकको कूल लम्बाइमध्ये ४४% सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले यो प्रविधि नेपालको पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने बताएको छ । 

सन् २०१५ डिसेम्बरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले पावरचाइनासँग २०१७ मे मा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) सम्मेलनको अवसरमा ईपीसी सम्झौतामा हस्ताक्षर गर्न सफल भएको विज्ञप्तिमा जनाइएको छ । 

विश्व प्रसिद्ध पावर चाइना कम्पनीको सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन । पावरचाइना सिनो हाइड्रोमार्फत नेपालमा विगत ३० वर्षदेखि जल विद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ । 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र पावरचाइना कम्पनीबीच भएको उक्त सम्झौतापत्र नेपाल सरकार भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेस गरिसकेको छ । साथै यस परियोजनामा संघीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास लिएको कम्पनीले जनाएको छ ।

निजी क्षेत्रद्धारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको मंगलबार बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा भवन भट्टलाई यस कम्पनीको अध्यक्ष चयन गरेको छ । 

पछिल्लो समय प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग बनाउन ढिलासुस्ती गरेको भन्दै प्रदेश सरकारले नै आयोजनालाई अगाडि बढाउने बताएका थिए । नेपाल पूर्वाधार विकास कम्पनीले पावर चाइनासँग सम्झौता गरिसकेको र केन्द्र सरकार र प्रदेश सरकारलाई समेत जानकारी गराइसकेको अवस्थामा अब प्रदेश सरकारले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै