• २०८१ बैशाख १४ शुक्रबार

प्राविधिक शिक्षामा प्राथमिकता : शिक्षामन्त्री पोखरेल

kharibot

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको अध्यापनलाई प्राथमिकता दिइएको बताए ।

पर्यटन व्यवसायी तथा शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपी प्रसाईं फाउण्डेशनको बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा प्राविधिक शिक्षा अध्यापनमा सरकारी विद्यालयलाई प्राथमिकता दिएको बताएका हुन् । उनले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्सँग धेरै अपेक्षा गरिएको बताउँदै प्राविधिक जनशक्ति पर्याप्त उत्पादन गर्न सके मात्र देश विकास हुने बताए । “सार्वजनिक शिक्षालाई व्यवस्थित गरिनपुर्छ,” मन्त्री पोखरेलले भने, “अबका विद्यार्थीले विद्यालय शिक्षा सकिँदा केही न केही सीप सिकेको हुनपर्छ ।”

शिक्षक पुरस्कृत

कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको छ । म्यादीका शिक्षक थममाया पुनलाई पिपी प्रसाईं राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ र पर्यटन व्यवसायी प्रभाकरशमशेर राणालाई पिपी प्रसार्इं टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८ द्वारा सम्मानित गरिएको छ ।

हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार–२०७५’ यो वर्ष प्रदेश नं १ बाट आदर्श मावि झापाकी गीता ओझा, प्रदेश नं २ बाट श्री जनता मावि सोनमती गाढा–३ सिरहाका वीरेन्द्रकुमार सिंह, प्रदेश नं ३ बाट तिलिङ्गटार मावि काठमाडौँका सरोजकुमार पाण्डे, प्रदेश नं ४ बाट भवानी मावि गोरखाका बलराम भण्डारी, प्रदेश नं ५ बाट धम्बोझी मावि बाँकेका किरण पौडेल आचार्य, प्रदेश नं ६ बाट श्री आदर्श मावि जुफाल डोल्पाका पूर्णबहादुर डाँगी र प्रदेश नं ७ बाट श्री देवास्थल माविका के. आई सिंह फलेडी र डोटीका रघुनाथ पाठकलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कारसहित ५० हजार नगद र सात प्रदेशमा एकएक जनालाई उत्कृष्ट शिक्षक पुरस्कारसहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । साथै २०७४ सालदेखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्न शुरु गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै