दाङ। नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई केहि बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
निर्वाचनको बेलामा मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली काँग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका दोषी प्रकाण्ड भएको भन्दै उनी विरुद्ध मुद्धा दर्ता रहेको प्रहरिले जनाएको छ ।
भोजपुरबाट दाङ लगिएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी नियन्त्रणमै रहेका प्रकाण्डले पत्रकारसँग संक्षिप्त कुरा गर्दै अदालतको फैसला नमानेर वर्तमान सरकार अराजक बन्दै गएको बताए ।