पर्वतको संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

खरीबोट
ad

पर्वत । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता छ ।

संस्कृत भाषा, शुक्लयजुर्वेद, व्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भगवद्गीतालगायत पुस्तकको अध्ययन गरिँदै आएको भए पनि माथिल्लो तहको प्रमाणपत्र यहाँ नपाइने भएकाले भारतका विभिन्न विद्यालय धाउनुपरेको हो ।

विसं २०५५ मा स्थापना भएको पाठशालालाई २०५८ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्वतले प्राथमिक तह (कक्षा १–५) सम्मको स्वीकृति दिएको थियो भने २०६९ देखि कक्षा ६ को स्वीकृति प्रदान गरेको थियो । तर पाठशालामा हाल कक्षा ४, ५ र ६ को मात्र पढाइ सञ्चालन हुने गरेको छ ।

जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको एकमात्र संस्कृत विद्यालय तत्कालीन जिल्ला शिक्षा कार्यालयअनुसार भएकै कारण माथिल्लो कक्षाको स्वीकृति दिन आनाकानी भएको स्थानीयको गुनासो रहेको छ । “कक्षा १० सम्मको अनुमति मागेका थियौँ, तर कार्यालयले दिन आनाकानी र बहानामात्र गरिरह्यो ।” कुश्मा–५ निवासी कमलनाथ पोख्रेलले भने, “जिल्लाको गहनाका रुपमा रहेको संस्कृत पाठशालालाई स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारमा ध्यान दिनसक्ने हो भने संस्कृत पठनपाठनमा रुची भएका विद्यार्थीसमेत बढ्ने थिए ।”

“कक्षा १० सम्मको अनुमति मागेको भए पनि बल्लतल्ल कक्षा ६ सम्म अनुमति पाइएको छ ।” संस्कृत पाठशालाका गुरु पद्मराम उपाध्यायले भने, “पुराना शिलालेख, ऐतिहासिक दस्तावेजसमेत संस्कृत भाषामा नै हुने भएकाले संस्कृत शिक्षाका लागि राज्य उदासीन हुनुहुँदैन ।” उनले थपे, “नेपाली भाषा, हिन्दी भाषासमेत संस्कृत भाषासँग परिपूरक छन् । त्यसैले सबै भाषाको जगेर्ना गर्ने बेला भइरहेको र अत्यावश्यक भाषालाई संरक्षण गर्नु राज्यको दायित्व हो ।”

राज्यले मातृभाषालाई मान्यता दिने र संरक्षण गर्ने भन्दै आएको भए पनि माओवादी द्वन्द्वकालदेखि उपेक्षा गरिँदै आएको आरोप लाग्दै आएको छ । “संस्कृत विषयको पठनपाठन र शिक्षालाई जोगाउनेतर्फ राज्य नै उदासीन रहेकाले विद्यार्थीले दुःख झेल्नुपरेको स्थानीय एकता युवा क्लबका निवर्तमान अध्यक्ष अच्युत तिवारीले बताए । उनले विद्यालयमा संस्कृत शिक्षा अनिवार्य गर्न र जिल्ला जिल्लामा रहेका संस्कृत पाठशालाको संरक्षण गर्नसके मात्र इतिहासको संरक्षण हुने जिकिर गरे ।

नेपाली भाषामा समेत धेरै शब्द संस्कृत भाषाबाटै आयातित भएका र संस्कृत भाषामा पुराना ग्रन्थ तथा लेखोटसमेत रहेकाले इतिहासको संरक्षण गर्न र मातृ भाषालाई बलियो बनाउनसमेत यो भाषाको संरक्षण गर्नुपर्ने तर्क स्थानीयको रहेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट व्यवहारिकता हेरेरमात्रै कक्षा ६ सम्मको स्वीकृति दिएको भए पनि कक्षा ७ सम्म पढाइ सञ्चालन भइरहेको कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले बताए । उनले भने, “संस्कृतका विषयमात्र पढाउने पाठशालालाई यहाँबाट स्वीकृत दिने नीति राज्यको छैन । तर गुप्तेश्वरमा सबै विषय पढाउने भनी व्यावहारिकता हेरेर अनुमति दिइएको छ । त्योभन्दा माथिल्लो कक्षाको स्वीकृति लिने हो भने मन्त्रालयसम्म गएर ध्यानाकर्षण गराउनुपर्छ ।”

जिल्लामै एकमात्र संस्कृत विद्यालयका रुपमा कुश्मामा अवस्थित यो संस्कृत पाठशालालाई कक्षा १० सम्मकै मान्यता दिलाउन अत्यन्त आवश्यक रहेको भए पनि त्यसो हुन नसक्दा मावि तहको पढाइ गरेर पनि प्रमाणपत्र तल्लो तहकै लिनुपर्ने बाध्यता रहेको हो ।

नागाबाबा पशुपति गिरी र नागाबाबा विष्णु गिरीलगायत स्थानीय कुश्मावासीको अगुवाइमा स्थापना भएको यस वेदवेदाङ्ग संस्कृत पाठशालामा पढ्ने अधिकांश विद्यार्थी हाल उपल्लो तहको प्रमाणपत्रकै लागि भारतको अयोध्या, बृन्दावन, हरिद्वार र वनारसलगायत स्थानमा जान बाध्य भएका छन् ।

हाल उक्त पाठशालामा चार शिक्षक र २६ विद्यार्थी रहेका छन् । अहिले संस्कृत शिक्षाका अलवा अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली भाषासमेत विद्यालयमा पठाइने गरेको विद्यालयका गुरु (प्रधानाध्यापक) पद्मराम उपाध्यायले जानकारी गराए ।

सम्बन्धित समाचार

पर्वतको संस्कृत पाठशालाको पढाइ नेपालमा, प्रमाणपत्र भारतमा

पर्वत । जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता छ । संस्कृत भाषा, शुक्लयजुर्वेद, व्याकरण,

कसले गर्ने व्रत ? के भन्छन् डाक्टर र संस्कृतिविद्हरु ? 

काठमाडौं । तीजको बेला छ, नेपाली हिन्दू नारीहरु नखाई नखाई व्रत बस्ने गर्दछन् । समाजमा पानी पनि नखाई व्रत बस्नुपर्छ भन्ने मान्यता छ । सोही कारण कतिपय महिलाहरु पानी पनि

संस्कृति धान्दै बागलुङको नेवार समुदाय

बागलुङ । यहाँको नेवार समुदायमा अहिले भदौरे जात्राको रौनक छ । जनैपूर्णिमादेखि शुरु भएको जात्रा तीजसम्म चल्नेछ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् ।

“शिक्षाका नाममा धर्म र संस्कृति बिथोलिनु हुँदैन”

नेपालगञ्ज । “पवित्र धर्मग्रन्थ कुरानले ज्ञानका लागि शिक्षा आर्जन र तालीम लिनुपर्ने कुरा सुझाए पनि हामी आफ्नो धर्म संस्कृतिमाथि अतिक्रमण हुने खालका शिक्षा ग्रहण गर्न कदापि तयार छैनौं ।” मुस्लिम धर्मगुरु